प्रेम रावत ।
हिजोआज मानिसलाई एकदमै छिटो निराशाले सताइरहेको हुन्छ । किनभने, निराशा केवल एउटा पुस्तामा मात्रै होइन सबै पिँढीमा फैलिरहेको छ । सबै कुरा हुँदा या नहुँदा पनि निराशाले सधैँजसो प्रभाव जमाइरहेको हुन्छ ।
एउटा सानो हास्यप्रद कथा छ–
एउटा सानो बालक डाक्टरकहाँ गयो । त्यसले डाक्टरसँग सोध्यो, ‘डाक्टर साब ! म आफूले आफूलाई जता छुन्छु त्यतै दुख्छ । मेरो घुँडा पनि दुखिरहेको छ । मेरो टाउको पनि दुखिरहेको छ । मेरो कानमा पनि पीडा भइरहेको छ । मेरो नाकमा पनि पीडा भइरहेको छ । सबै ठाउँमा पीडा भइरहेको छ ।’
डाक्टरले उसलाई चेकजाँच गरेपछि भने, ‘तिम्रो औँला भाँच्चिएको छ त्यसैले त तिमी आफ्नो औँलाले जहाँ छुन्छौ त्यहाँ पीडा भइरहेको छ ।’
हामीलाई पनि यस्तै भइरहेको हुन्छ । वास्तवमा निराशाको मूल कारण हामीमा भएको अज्ञानता नै हो ! अनि, अज्ञानता एउटा यस्तो कुरा हो, जुन हामीसँगै हिँडिरहेको हुन्छ । जहाँ हामी जान्छौँ हाम्रो साथैमा हिँडिरहेको हुन्छ । तथापि, हामीले बुझ्नुपर्ने कुरा के छ भने चेतना पनि हाम्रै साथमा छ अनि अचेतना पनि हामीभित्रै छ । अँध्यारो पनि हामीभित्रै छ अनि प्रकाश पनि हामीभित्रै छ । जे कुरालाई तपाईँ अघि सार्नुहुन्छ त्यही नै प्रकट हुन्छ । हामीलाई क्रोधी बन्न कति समय लाग्छ ! एक सेकेन्ड पनि लाग्दैन । किनभने, क्रोध हामीभित्रै छ । सानो कुरामा पनि हामीलाई तुरुन्तै रिस उठ्छ अनि हामीलाई तनाव भइहाल्छ ।
मानिसहरू विभिन्न कुरामा लागिपरेका छन् । एकक्षण पनि उनीहरूमा चैन हुँदैन । तथापि, शान्तिका लागि कसैलाई पनि फुर्सद मिल्दैन । उमेर पाको हुँदै गएपछि जति कमाएका हुन्छन्, त्यो सबै यताउताका कुरामा सकिँदै जान्छ । किनभने, हामीले आफ्नो जीवनलाई आनन्दसँग बिताएकै छैनौँ । जब हाम्रो जीवनमा यस्तो प्रकारको कुरा हुन थाल्छ भने यो उल्टो तरिका हो । कमसेकम हाम्रो अज्ञानता नै हाम्रो निराशाको कारण हो भन्ने कुराका बारेमा बोध हुनु अत्यावश्यक छ ।
हरेक मानिसमा समस्या छ अनि हामी ती समस्या हटून् भन्ने चाहना राख्छौँ । तथापि, ती समस्या कहिल्यै पनि समाप्त हुँदैनन् । समस्या त एउटा यस्तो झिँगा हो, जुन तपाईँको टाउकोमा बसेको छ, तपाईँलाई छोडेर ऊ कोही अर्कामाथि बस्न पुग्छ । समस्याले त मानिसलाई नै दुःख दिन्छ अनि त्यो विभिन्न रूपमा आउँछ र जान्छ । यो पृथ्वीमा समस्याहरू सधैँ रहिरहन्छन् । केवल मानिस मात्रै फेरिन्छन् । तथापि, आजको समयमा पनि समस्यालाई समाधान गरेर मानिस तनावबाट मुक्त हुन सक्छ । समस्याबाट मुक्त हुनका लागि कुनै उपाय नै छैन ! समस्याबाट टाढा हुनुहोस् या नजिक, तपाईँ यसबाट हट्न सक्नुहुन्न । यो त तपाईँको पछि लागिरहनेछ ।
कुनै पनि मानिस, चाहे ऊ गरिब होओस् या धनी । एउटा स्थानमा आफ्नो घडीलाई हेरेर उभिइरहेको छ– ‘मेरो बस ढिलो भयो । मलाई काममा जान ढिलो भइरहेको छ ।’ उसलाई पनि चिन्ता नै छ । एउटा यस्तो व्यक्ति, जसले करोडौँको करारका लागि हस्ताक्षर गर्न गइरहेको छ । ऊ पनि आफ्नो घडी हेरेर भनिरहेको हुन्छ– ‘यदि म समयमा पुग्न सकिन भने त हुन सक्ला, यो करारमा हस्ताक्षर नहुन सक्छ ।’ चिन्ता त त्यही नै हो अनि सबैलाई सताइरहेको छ । तथापि, हामी कहिल्यै यो कुरालाई यस दृष्टिले हेरिरहेका हुँदैनौँ– एकातिर त्यो पर्खाल छ, जसलाई हामीले पार गरेर आएका छौँ जब हाम्रो जन्म भयो । अनि, एउटा अर्को पर्खाल जहाँबाट हामीले जानुपर्छ । कहाँ जानुपर्छ ? के हुन्छ ! हामीलाई केही पनि थाहा छैन । अतः एक त जन्म हुन्छ अनि अर्को मरण हुन्छ । यिनैका बीचमा सबै कुरा छन् । तपाईँ के चाहनुहुन्छ ?
यदि कसैलाई समस्या छ र उसलाई सोधियो– ‘तपाईँ के चाहनुहुन्छ ?’
उसले त यही नै भन्नेछ– ‘म यो दुःखबाट मुक्ति पाउन चाहन्छु ।’
तपाईँलाई राम्रोसँग थाहा छ । एक न एक दिन त्यो दुःख हाम्रो साथमा रहनेछैन । अनि, के हाम्रो जीवन केवल दुःखबाट बच्नका लागि मात्रै हो या यसबाट अरू पनि केही कुरा सम्भव हुन्छ त ! यो जीवनको सम्भावनालाई हामीले बुझ्यौँ या बुझेनौँ ! किनभने, दुःख त आउनेछ अनि सुख पनि आउनेछ । यदि अहिले दुःखको समय चलिरहेको छ भने केही दिन प्रतीक्षा गर्नुहोस्, सुखको समय पनि आउनेछ । जब सुख हुनेछ, केही दिन पर्खनुहोस् फेरि दुःख पनि आउनेछ । यो त भइरहन्छ तर के कुरा बुझ्नुहोस् भने, यी चिन्ताबाट मुक्ति पाइयोस् भन्नका लागि यो जिन्दगी पाइएको होइन । अरू पनि केही कुरा छन्, जसका बारेमा तपाईँले चिन्तन गर्नुभयो भने तपाईँको जीवन सफल हुनेछ । त्यस चीजका बारेमा चिन्ता गर्नुहोस्, जुन तपाईँभित्र छ । जुन तपाईँलाई आशीर्वाद प्राप्त भएको छ– के तपाईँले त्यस आशीर्वादको भरपूर फाइदा लिनुभएको छ या छैन ? किनभने, त्यस चीजलाई चिनेपछि तपाईँका सारा चिन्ताहरू समाप्त हुनेछन् ।
जुन वस्तुलाई हामी बहुमूल्य भनेर बुझ्छौँ, जसलाई अमूल्य सम्झन्छौँ– त्यस वस्तुलाई प्राप्त गरेपछि हामी त्यसको निकै कदर गर्छौँ । हामी त्यसलाई विनाकाममा खर्च गर्दैनौँ । यो श्वासको आवागमन त हीराभन्दा पनि मूल्यवान् हुन्छ । यो सृष्टिकर्ताको कृपा हो । यसको हामी कदर गर्नै जान्दैनौँ अनि हामी यिनै समस्याका पछि लागेका छौँ । त्यसबाट मुक्त हुनका लागि हामी सबैथोक गर्न तयार हुन्छौँ । तर, त्यही समस्याले हामीलाई दुःख दिइरहन्छ । किनभने यो त्यसको प्रकृति नै हो ।
यो संसारमा तपाईँ आनन्दका साथ रहनुहोस् अनि त्यो आनन्द जुन तपाईँको हृदयबाट आउँछ, तपाईँभित्रबाट आउँछ । तर, त्यो आनन्द आएर बाहिर सबैथोक बदलिँदैन । समस्या त फेरि पनि आउने नै छ तर तपाईँले बाँच्ने तरिका थाहा पाउन सक्नुहुन्छ । तपाईँलाई त्यो बाटो थाहा हुनेछ । फलतः त्यो समस्याले तपाईँलाई हैरान पार्दैन । यदि एकपटक समस्याले दुःख दिन छोड्यो भने त्यो दुःखका रूपमा सधैँ रहिरहँदैन । त्यो आउँछ अनि फेरि आपैmँ जान्छ ।
सृष्टिकर्ताले तपाईँलाई एउटा चीज दिएका छन्– त्यो हो धैर्य ! तथापि, हामी धैर्य गर्न सकिरहेका हुँदैनौँ । हामी आफ्नो जीवनमा दौडिरहेका छौँ तर कसका पछि लागेर दौडिरहेका छौँ भन्ने नै थाहा हुँदैन । एउटा पर्खाल, जसबाट हामी आयौँ अनि अर्को त्यो पर्खाल छ, जसबाट हामीले जानुपर्नेछ । यो एउटा यस्तो दौड हो यदि तपाईँ अर्कोतिरबाट जान खोज्नुभयो भने पनि यतै (मृत्यु) तिर नै जानुहुनेछ । यसलाई कसैले पनि रोक्न सक्दैन ।
मानिसहरू जीवनमा जागिरबाट अवकाश भएपछि आनन्द प्राप्त हुन्छ भन्ने सोच राख्छन् । जब स्वयम् आपैmँलाई बाँच्न गाह्रो भइरहेको हुन्छ तब मानिस आफूले आफूलाई व्यस्त राख्ने कोशिश गरिरहन्छन् । कतिपय मानिसहरू जङ्गलमा जान्छन् अनि हराउँछन् । त्यहाँ कोही हुँदैन, केवल आफूमात्र हुन्छन् । तब हतास हुन्छन्, किनकि आफूले आफैसँग रहेर कहिल्यै जिउन सिकेका छैनन् । यो जीवनमा जसले बाँच्नै सिकेका छैनन् भने तिनका लागि यो जिन्दगी छ या छैन, दुःख छ या छैन, त्यो एक समान हो । अनि, हरेक चीजले उसलाई दुःखी तुल्याइरहन्छ । यसर्थ कुरा दुःखबाट बच्ने होइन । किनभने, पानी त पर्छ तर छाता छ भने भिज्नुपर्ने आवश्यकता नै पर्दैन । कुरा त भिज्ने/नभिज्ने भन्ने हो नि ! पानीको होइन । वर्षा त हुन्छ तर के तपाईँ भिज्न चाहनुहुन्छ या चाहनुहुन्न !
जाडोयाम शुरु भएपछि मानिसहरूले बाक्लो ब्ल्याङ्केट निकाल्छन् । जाडोयाम त आउँछ नै । त्यो त मौसम हो तर तपाईँलाई चिसो नै लाग्नुपर्छ भन्ने कुराचाहिँ अनिवार्य हुँदैन । ब्ल्याङ्केट खोज्नुहोस् । ज्याकेट लगाउनुहोस् । स्वीटर लगाउनुहोस् । लगाउनुहोस् । यसर्थ जसले यस कुरालाई अपनाउनुहुन्छ– ‘यो त हुने नै छ । समस्याहरू त आउने नै छन् तर म चिन्तित हुनुपर्ने आवश्यकता रहँदैन ।’ यदि दुःखबाट मानिस दुःखी भएन भने त्यस दुःखले उसलाई केही पनि असर पार्दैन । यो कुरा सम्भव छ ! दुःखलाई नै हटाउन सम्भव छैन तर त्यसबाट दुःखी नहुने कुराचाहिँ सम्भव छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)
प्रतिक्रिया