डोटीमा खुलेन सुपथ मूल्य पसल

0
Shares

विमल विष्ट, डोटी ।

उपभोक्तालाई दशैं–तिहारमा नुन र चिनी किन्न सहज होस् भन्नी ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ शाखा कार्यालय दिपायलले वर्षेनी खोल्दै आएको सुपथ मूल्य पसल यसपालि सञ्चालनमा आएको छैन ।

सुपथ मूल्यका पसल सञ्चालनमा नआएका कारण गाउँबाट दशैं–तिहारका लागि सहुलियत दरको नुन र चिनी किन्न आउने ग्राहकहरु रित्तो हात फर्किन थालेका छन् । क्षेत्रीय कार्यालय धनगढीबाट चिनी अभावले नआएको हुँदा पसल सञ्चालन गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय दिपायलले जनाएको छ । चिनी नआए पनि नुन आएको र आवश्यक कर्मचारी तथा जनशक्ति अभावका कारण वितरण गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय दिपायलका कर्मचारी प्रकाश विकले बताउनुभयो ।

बजारमा चिनी रु ९० र नुनको रु २५ पर्ने गरेको छ भने विगतमा सुपथ मूल्यका पसलमा नुन रु १८ तथा चिनी रु ६५ मा बिक्री–वितरण हुँदै आएको थियो । दशैं–तिहार जस्तो महत्वपूर्ण चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न नसकेको भन्दै स्थानीयबासी आक्रोशित भएका दिपायल सिलगढी नगरपालिका–४ का सोनु कामीले भन्नुभयो । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने साल्ट ट्रेडिङ कर्पोरेसन दिपायल शाखालाई तत्काल सुपथ मूल्यका पसल चलाउन निर्देशन दिएको बताउनुहुन्छ ।

पसल खोलेर नुनमात्र बेच्दा प्रभावकारी नहुने कार्यालयको ठहर छ । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशव पाण्डेले आवश्यक कर्मचारी तथा चिनी अभावका कारण दिपायल साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयबाट सुपथ मूल्यका पसल सञ्चालन गर्न नसकिएको बताउनुभयो ।