चन्द्रपुुर नगरपालिकाको बदमासी, कोरोना नियन्त्रणका लागि उठाइएको रकम विपद् व्यवस्थापनमा

0
Shares

सञ्जय कार्की, रौतहट ।

कोरोना नियन्त्रणका लागि शिक्षकबाट संकलन गरेको २१ लाख रुपियाँ चन्द्रपुर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा उपचार कोषमा जम्मा नगरी आफ्नै विपद् व्यवस्थापन कोषमा जम्मा गरेर लुकाएको खुल्न आएको छ । चन्द्रपुर नगरक्षेत्रका शिक्षकहरूले कोरोना नियन्त्रणका लागि काटिएको रकम खोजबिन गर्न थालेपछि रकम लुकाएको खुल्न आएको हो ।

चन्द्रपुर नगरपालिका उपसचिव कृष्णप्रसाद सिग्देलले शिक्षकबाट उठाइएको रकम विपद् व्यवस्थापनको खातामा जम्मा भएको बताउनुभयो । तर, संकलित रकम कहाँ खर्च गरिएको हो त्यो भने सार्वजनिक गरिएको छैन । गत चैत ११ गतेदेखि सरकारले कोरोना फैलन नदिन देशभर लकडाउन गरेपछि चन्द्रपुर नगरपालिकामा कार्यरत अधिकांश कर्मचारी घर बसी कोरोना नियन्त्रणमा खटिएको भन्दै जोखिम भत्ता बुझेको नगरपालिकामा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

कोरोना नियन्त्रणका लागि संकलन गरेको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने हो तर त्यस विपरीत विपद् व्यवस्थापन कोषमा शिक्षकबाट संकलन गरेको रकम जम्मा गर्नुले पनि दुरुपयोग गर्न खोजेको शिक्षकहरुको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रका १२ माध्यमिक, ११ निम्नमाध्यमिक र २३ प्राथमिक विद्यालयका गरी ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको थियो । नगरपालिकाले मावि, निमावि र प्राविका शिक्षकको क्रमश ७ दिन, ५ दिन र तीन दिनको तलब कट्टा गरेको थियो ।

कोरोना संक्रमणको शुरुआती चरणमै सरकारले निजामती कर्मचारीको पदअनुसार तलबबाट रकम जम्मा गर्न आह्वान गरे पनि शिक्षकहरूको तलब कट्टा गर्ने आह्वान नभएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका सहप्रधानाध्यापक देवनारायण हुमागाईंले बताउनुुभयो । शिक्षकको तलब एक त काट्न नमिल्ने अर्कोतर्फ काटिए पनि त्यसको हिसाब सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरिएको उहाँ बताउनुुहुुन्छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शिक्षकहरूबाट उठाइएको रकम जुन प्रयोजनका लागि संकलन गरिएको हो सोबमोजिम नगरी आफूखुसी अन्यत्र जम्मा गर्न नपाइने बताउनुभयो ।