दशैं बिदा शुरु भएदेखि सर्वोच्चद्वारा ९ वटा बन्दीको निवेदनमा कारवाही

0
Shares

विकास भट्टराई, काठमाडौं ।

दशैंको विदा शुरु भएपछि सर्वोच्च अदालतमा बुधबारसम्म नौ वटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाई भएको छ । त्यसमध्ये गैरकानूनी रुपमा थुनामा राखिएको ठहर गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले पहिलो पटक अमित कुमार सहनीलाई बुधबार रिहा गर्न आदेश दिएको छ । सहनीलाई कारागार कार्यालय, नख्खु, ललितपुरमा राखिएको थियो । सहनीलाई बुधबार नै रिहा गरिएको बताइएको छ ।

सोही इजलासले मोहम्मद सरफराजलाई भने कानूनसम्मत रुपमा थुनामा राखिएको ठहर गरी सम्बन्धित रिट निवेदन खारेज गरेको छ । सरफराजलाई भने कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौं राखिएको थियो ।

गैरकानूनी रुपमा थुनामा राखिएको जनाई सहनीको हकमा अधिवक्ता सन्तोष घिमिरेले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । यसैगरी सरफराजको हकमा भने मोहम्मद चाँद मियाँद्धारा रिट निवेदन दायर गरिएको थियो ।

बुधबार नै सर्वोच्चले सुरज विकलाई थुनामा राख्नु पर्नाको कारण पेश गर्न काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ । विकलाई गैरकानूनी रुपमा थुनामा राखिएको दावी गरी भक्तबहादुर विकद्धारा रिट दर्ता गरिएको थियो ।

गत आइतबार चिनकाजी विश्वकर्माको हकमा कृष्णादेवी आचार्यद्धारा रिट निवेदन दायर भएको थियो । सो निवेदनमा सुनुवाई गरेपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले जिल्ला प्रहरी कार्यालय, गोरखालाई विश्वकर्मालाई थुनामा राख्नु पर्नाको कारण पठाउन आदेश दिएको छ ।

त्यसैगरी गत सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास गठन भएको थियो । सो इजलासले हरिप्रसाद राईको हकमा उनकी श्रीमती सुर्जीकुमारीद्धारा दायर गरिएको रिट निवेदनको सुनुवाई गरेको थियो ।

सोही दिन नै भक्तिराम पोखरेलको हकमा अधिवक्ता लक्ष्मीप्रसाद मैनाली र कुन्जोक छिरिङको हकमा अधिवक्ता डिलहरि शर्माद्धारा दायर गरिएको रिट निवेदनको पनि सुनुवाई भएको थियो । तीनै वटा रिट निवेदनको छुट्टा छुट्टै रुपमा सुनुवाई गरेपछि प्रत्येक बन्दीको हकमा कारण देखाउ आदेश जारी गरिएको छ । उनीहरुलाई थुनामा राख्नु पर्नाको कारण पेश गर्न इजलासले आदेश दिएको छ ।

त्यस्तै गत मंगलबार पनि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास गठन भएको थियो । सो इजलासले दुई वटा रिट निवेदन सुनुवाई गरी परमेश्वर साह र त्रिलोचन विश्वकर्मालाई थुनामा राख्नु पर्नाको कारण पेश गर्न आदेश दिएको छ । साहको हकमा कानून ब्यवसायी प्रतिमा मुनिकारले र विश्वकर्माको हकमा सुदीप ढकालले रिट निवेदन दर्ता गराउनु भएको थियो ।

दशैंको शुरुवाती दिन घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा हुन्छ । तीन दिन भन्दा बढी विदा हुने भएमा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनवाई गर्न कम्तीमा एउटा इजलास गठन हुनु पर्ने सर्बोच्च अदालतको नियमावलीमा ब्यवस्था गरिएको छ ।