रअ प्रमुखको टोली नेपालमा

नेपाल-भारत सम्बन्ध सुधारको अभ्यास ?

0
Shares

दीपक रिजाल, काठमाडौं ।

नेपाल–भारतबीच सरकारी स्तरको सम्वन्ध चिसिएकै बेला भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल सहितको एउटा टोली नेपाल आएको छ ।

बुधबार दिउँसो बिषेश बिमानबाट काठमाडौं आएका उनीहरुले नेपालका उच्च राजनीतिक अधिकारी विभिन्न पार्टीका शीर्ष नेताहरुलाई भेटेका छन् । उनीहरुले नेपालका सुरक्षा निकायका प्रमुखहरुलाई समेत भेटेका छन् ।

गोयलको टोलीलाई विमानस्थलमा खटिएका सुरक्षाकर्मीले बिमानमा नै गएर स्वागत गरेका थिए । रअ प्रमुख नेपाल आउनुको कारण नखुलाइएपनि उनीहरुको नेपाल भ्रमणलाई लिएर दक्षिणी छिमेकी मुलुक चीनले चासोका साथ हेरेको छ । चिनिया दूतावासले गोयलको नेपाल भ्रमणका बारेमा चासो राखेको स्रोतले जानकारी दिएको छ ।

विमानस्थलको भीआईपी कक्ष प्रयोग गरेका उनीहरु बिमानस्थलबाट सीधै भारतीय दूतावास गएका थिए । रअ प्रमुख गोयलको नेपाल भ्रमणलाई लिएर बिभिन्न टिका टिप्पणी भएको छ । गोयलको नेपाल भ्रमणलाई केही दिनपछि नेपाल आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको भ्रमणका बारेमा कुरा गर्न नेपाल आएको दावी गरिएको छ ।

गोयलको नेपाल भ्रमणलाई भारतीय पक्षले गोप्य राख्न खोजेको भएपनि उहाँको नेपाल भ्रमणका बारेमा नेपाली सञ्चार माध्यमले ब्ुधबार अपरान्हदेखि महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका थिए ।

रअका प्रमुखको यसअघि नेपाल भ्रमण हुँदा गोप्य राख्ने गरिएको भएपनि यस पटक भने अधिकांश कुरा सार्वजनिक भएका छन् । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख अधिकारीले गोयगलको नेपाल भ्रमणका सबै प्रवन्ध मिलाएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीको चाहनामा गोयल नेपाल आएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग रहेको र अरका प्रमुखले प्रधानमन्त्रीलगायत उच्च अधिकारीसंँग समेत भेट गर्नुहुने भएको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालले आफ्नो भएको दावी गरेर नयांँ नक्सा जारी गरेपछि भारत र नेपालबीचको सम्वन्धमा चिसोपन आएको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसंँगको सम्वन्ध सुधार गर्नका लागि गोयललाई दूतको रुपमा नेपाल पठाएको अनुमान सुरक्षाविज्ञहरुले गरेका छन् ।

नेपाल–भारतबीचको सम्वन्धमा चिसोपन आएको र सत्तारुढ दल नेकपा भित्रको आन्तरिक लडाइँले पार्टीलाई उथलपुथल बनाइरहेको बेला गोयलको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतको सीमा बिवाद नेपाल–भारतबीच मात्र नभएर अर्को छिमेकी मुलुक चीनसंँगपनि उस्तै बिवाद रहेकाले नेपालसँंगको सम्वन्ध सुधार गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीले गोयललाई नेपाल पठाएको हुनसक्ने अनुमान गरिएको छ ।