असोजमै पाक्यो सुन्तला

0
Shares

नेपाल समाचारपत्र, पाल्पा  ।

सामान्यतया मंसिर, पुस महिनालाई सुन्तला पाक्ने सिजनका रूपमा लिइन्छ तर पाल्पामा गएको भदौको अन्त्यदेखि शुरु भई अहिले त लटरम्म पाकेको पनि छ । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर बनेको पनि छ ।

सुन्तलाका बोेटले थेग्नै नसक्ने गरी फलेको छ अनि पाकेको पनि । यस्तो दुश्य देख्दा त्यहाँ पुग्ने जो कोही पनि आश्यर्च चकित पर्नु नौलो होइन । फर्ममा रहेका ६५ वटा बोटमा जापानिज ओकीचुवासे प्रजातीको सुन्तला भदौको अन्तिम सातादेखि नै पाक्न शुरू गरेको हो ।

नेपालको बागवानी तथा फलफूलको क्षेत्रमा जापान सरकारबाट आर्थिक तथा प्राविधिक सहयोगबाट यहाँ सुन्तलाका विरुवा लगाइएको थियो । जापानी स्वयम् सेवकले यो प्रजातीको सुन्तला २०४४/४५ सालमा ल्याए पनि पाल्पामा विगत १० वर्षदेखि परीक्षणको रुपमा रहेको थियो । योे सुन्तला मध्य पहाडी क्षेत्रमा व्यावसायिक खेती गर्न सकिने प्रजातिको फल हो । अन्य प्रजातीका सुन्तलाको तुलनामा स्वादमा निकै फरक र कम समयमै उत्पादन लिन सकिन्छ । समुन्द्री सतहदेखि ९ सयदेखि १८ सय मिटरको उचाईमा यसको व्यावसायिक खेती गर्न सकिने भएकाले यो सुन्तला पहाडी जिल्लामा सफल हुने प्राविधिकहरू बताउँछन् ।

अम्लियपन नहुने, चिनीको मात्रा अत्यन्त कम भएकाले जस्तोसुकै बिरामीका लागि पनि यो सुन्तला फाइदा जनक मानिन्छ । लगाएको तीन वर्षबाटै उत्पादन लिन सकिने हुँदा यो प्रजातिको सुन्तला व्यावसायिक कृषकका लागि समेत लाभदायक देखिन्छ । जिल्लाका अधिकांश क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । त्यसमा अधिकांश स्थानीय जातका रहेका छन् । परम्परागत जातको तुलनामा यसबाट छोटो समयमै उत्पादन लिन सकिन्छ ।

कृषकबाट यो प्रजातिको सुन्तलाको व्यावसायिक खेती अहिलेसम्म भएको छैन । जिल्लामा सरकारबाट सिफारिस भएको र परीक्षणकै क्रममा थियो । अहिले यो व्यवसायी सफल भएको छ । प्रायःजसो सबैै मध्यपहाडी क्षेत्रका जिल्लामा सफल भयो अब यसको अन्तिम मान्यता प्राप्त गर्नका लागि सम्बन्धित निकायमा पठाउने र आगामी वर्षसम्म यसको नतिजा आउने वरिष्ठ बागवानी अधिकृत बमबहादुर थापा बताउनुहुन्छ । आगामी वर्षदेखि जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी सम्भाव्यताका आधारमा यसको खेती विस्तार गरिने थापाले बताउनुभयो ।