प्रथम छायाँकार मास्केको कोरोनाबाट निधन

14
Shares

– विदुर गिरी

नेपाली फिल्म क्षेत्रका प्रथम छायाँकार वैकुण्ठमान मास्केको कोरोनाबाट निधन भएको छ। रोयटर्सको अन्तर्राष्ट्रिय टिभी नेटवर्कको सक्रिय सञ्चारकर्मीसमेत रहेका मास्केको कोरोना संक्रमण देखिएपछि ललितपुरको निदान अस्पतालमा उपचार भइरहेको थियो। उपचारका क्रममा शुक्रबार दिउँसो साढे १ बजे उनको निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए।

८२ वर्षीय मास्के मृगौलामा समस्यामा भएका कारण ७ वर्षदेखि डायलसिस गर्दै आएका थिए। मृगौला रोगसँग लड्दै गर्दा पनि उनी रोयटर्सको अन्तर्राष्ट्रिय टिभी नेटवर्कको सक्रिय सदस्यका रूपमा विभिन्न विषयमा आलेख तयार पारेर छायांकन एवं सम्पादनसमेत गरी सिंगापुर तथा लन्डनका ब्युरोमा पठाउने महत्वपूर्ण सञ्चारकर्मीका रूपमा क्रियाशील रहँदै आएका थिए। मास्केको परिवारको उपस्थितिमा शुक्रबार नै नेपाली सेनाले अन्तिम संस्कार गरेको छ। त्रिपुरेश्वरमा बस्दै आएको उनको परिवारमा श्रीमती र एक छोरी रहेका छन्।

काठमाडौंको बांगेमुढामा विक्रम संवत् १९९५ साल कात्तिक १९ गते बुधबार एकादशीका दिन पिता न्हुछेमान मास्के र माता नानीमैया मास्केको सुपुत्रका रूपमा जन्मिएका वैकुण्ठमानले सन् १९५९ भारतको पटना विश्वविद्यालयबाट विज्ञान विषय लिई स्नातक तहको अध्ययन गर्दागर्दै त्यसलाई त्यागेर सन् १९६३ मा भारतको पुना गई फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट फिल्म छायांकनसम्बन्धी तीनवर्षे स्नातक तहको अध्ययन गरेका थिए।

त्यस समयमा भारतबाट प्राविधिक झिकाई उनीहरूको सहयोगमा फिल्म निर्माण गर्नुपर्दथ्यो। मास्केको प्रवेशसँगै नेपाली फिल्म निर्माण कार्य शुरु भइसके पनि प्रविधिको ज्ञान भएका नेपाली प्राविधिक नभएका कारण प्राविधिक कार्यका लागि भारतबाटै जनशक्ति मगाउनुपर्ने बाध्यताको अन्त्य भएको थियो। वैकुण्ठमानले २०२४ सालमा प्रदर्शनमा आएको फिल्म हिजो आज भोलिबाट नेपाली फिल्म क्षेत्रकै इतिहासमा सर्वप्रथम दक्ष नेपाली प्राविधिकका रूपमा सहायक छायांकारका रूपमा प्रवेश गरेका थिए।

२०२७ सालमा प्रदर्शित अर्को फिल्म परिवर्तनका निम्ति अपरेटिभ क्यामेरामेन भई उनले पूर्णरूपमा छायांकन कार्य गरेका थिए। फिल्म छायांकनलाई मूल विषय बनाई सिनेमामा स्नातक गरेका सिनेम्याटोग्राफर मास्केले श्रव्यदृश्य माध्यमका अन्य महत्वपूर्ण पक्षहरू क्यामेरा, सम्पादन र निर्देशनमा समेत लन्डनबाट उच्च शिक्षा हासिल गरेका थिए।

२०३१ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित मनको बाँधको पूर्णरूपमा सबै जिम्मेवारी लिई विशिष्ट कोटिको छायांकन गरेका सिनेम्याटोग्राफर मास्के नेपाली फिल्म निर्माण क्षेत्रमा प्रथम नेपाली फिल्म छायाकार भई ऐतिहासिक महत्वको योगदान पु¥याउने अविस्मरणीय व्यक्तित्व बनेका छन्। उनले प्रथम दक्ष नेपाली प्राविधिकका रूपमा कथानक फिल्मको सिनेम्याटोग्राफीको उत्तरदायित्व मात्र निर्वाह नगरी वृत्तचित्रको निर्देशन, छायांकन र सम्पादन कार्यसमेत गरेका छन्।

२०३५ सालमा ट्रान्र्सपोटेसन नेपाल तथा २०३६ सालमा बाँच र बाँच्न देऊ एवं अन्य थुप्रै वृत्तचित्रको निर्देशन तथा अनगिन्ती समाचार फिल्मसमेत छायांकन गरेका मास्केले फिल्म छायांकनमार्पmत नेपाली फिल्म क्षेत्रमा उच्च योगदान पु¥याएका छन्। मास्केले धेरै जना प्रतिभाशाली युवालाई व्यावहारिकरूपले आफूूसित काम गराई प्रशिक्षण दिएर योग्य क्यामेराम्यान बनाउनसमेत योगदान गरेका छन्।

मास्कले बेलायत र मलेसियाबाट फिल्म र टेलिभिजनसम्बन्धी विशेष तालिमसमेत लिएका थिए। उनले सन् १९८४ देखि १९८६ सम्म रोनास्टको प्रतिनिधि मण्डलमा फिल्म विज्ञका रूपमा कार्यभार सम्हाली विभिन्न विज्ञान र प्रविधिको क्षेत्रमा समेत विशेष योगदान दिएका छन्।

उनी नेपाली फिल्म क्षेत्रमा मात्र नभई विद्युतीय सञ्चारमाध्यममा समेत त्यत्ति नै नजिक छन्। मास्केले नेपालको पहिलो निजी टेलिभिजन च्यानल नेपाल टेलिभिजनमा प्रथम श्रेणीको निर्देशक कार्यभारसमेत सम्हालेका थिए। उनले नेपाल टेलिभिजनमा सन् १९८८ देखि १९९० सम्म प्राविधिक पक्षको गुणस्तरमा वृद्धि ल्याउनमा विशेष योगदान दिएका थिए।

फिल्म छायँंकन विधाबाट फिल्म क्षेत्रलाई समुन्नत बनाउन योगदान पु¥याएबापत नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिकको आयोजनामा भएको पहिलो सिजी कामना फिल्म अवार्ड समारोह–२०७१ मा मास्केलाई प्राविधिकतर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) २०७१ अर्पण गरिएको थियो।