अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा

0
Shares

अछाम । नक्कली फेसबुक पेज बनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप विगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्ति विरुद्ध मुद्दा चलाइएको छ ।

प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको व्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले ख्यातीप्राप्त महिला कलाकारको फोटोको स्वरुप विगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लिल गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो ।

उनी विरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुन अनुसार कारवाहीका लागि व्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनको आधारमा उनीमाथि व्यूरोले अनुसन्धान थालेको थियो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय मागदावी लिई जिल्ला सरकारी वकीलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच व्यूरोले बाल अश्लिलता फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रविण ढकाल विरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताउनुभयो ।