नेकपा र कांग्रेसको संयुक्त विज्ञप्ति

0
Shares

अमृत अर्याल,स्याङजा ।

कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला स्याङ्जाका दुई ठूला राजनितिक दलले संयुक्त विज्ञप्ति मार्फत जिल्लामा शुभकामना आदानप्रदान, भेला नगर्ने जनाएका छन् । नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे र नेपाली कांग्रेसका सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित संयुक्त विज्ञप्ति मार्फत दशैँ, तिहारको शुभकामना आदानप्रदान, भेला स्थगन गरिएको ब्यहोरा उल्लेख छ ।

सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय कोभिड १९ तिव्र गतिमा फैलिएको छ । यसको औषधी तथा खोप अहिलेसम्म उपलब्ध भै नसकेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्ने र सामाजिक दुरी कायम गरी दैनिक क्रियाकलाप सञ्चालन गर्नु नै एकमात्र विकल्प हो ।’

पछिल्लो समय राजनितिक दल, अभियान, संघसंस्था, व्यक्ति तथा परिवारको असावधानिका कारण कोभिड १९ समुदायस्तरमा समेत तिव्र रुपमा विस्तार भएको भन्दै दुई ठुला राजनितिक दलको संयुक्त बैठकले कोरोना न्युनिकरणका लागी यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

नजिकिँदै गरेको दशैँ, तिहारमा राजनितिक दलहरुले गर्ने शुभकामना आदानप्रदान, सामुहिक भेटघाट, पार्टी प्रवेश कार्यक्रम, चियापान कार्यक्रम, सामुहिक रुपमा गरिने सांगठानिक कार्यक्रमलाई दशैँ एवं तिहारसम्म स्थगन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही अनुसार आ–आफ्नो मातहतको कमिटिलाई परिपत्र गर्ने र जिल्लामा हुने आवातजावत नियन्त्रण गर्न स्थानीय प्रशासनको कार्यलाई सहयोग गर्ने जनाईएको छ ।

साथै जिल्लाबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुलाई यसपालीको चाडवाड आ–आफ्नै घरघरमा मनाउन अनुरोध गरेको छ । हाम्रो सक्रियताले महामारी नियन्त्रण गर्न सकियो भने आगामी वर्ष खुसी साटासाट गर्न सकिने विज्ञप्तिमा जनाएको छ ।