मेचीपारिका जनतालाइ सशस्त्रको साहरा

0
Shares

उत्तम नेपाल, भद्रपुर ।

मेची नदीमा कुनै प्रकारको पुल थिएन । हिउँदमा जसोतसो वारपार गरेपनि वर्षयाममा नाउको भरमा आवत – जावत गर्नुपर्ने बाध्यता । भौतिक पूर्वाधारको अभाव ,दिउँसै चोरी र लुटपाट हुने यी र यस्ता अनेकौ समस्या थियो झापाको भद्रपुर ३ स्थित मेचीपारी स्कुल डाँडाका स्थानीहरुको ।

प्रहरी प्रशासनको उपस्थिती नभएको यस्तो डरलाग्दो गाउँमा जीवन निर्वाह गर्दै आइरहेको ती बासिन्दाहरु बताउँछन् । भौतिक पूर्वाधारको अभावले गर्दा नेपाली भएपनि सवै भारतीय बजारको भर पर्नु पर्ने भएकोले उनीहरुले जे गरे पनि सहनु भन्दा अन्य विकल्प नभएको स्थानीय मोहन महतो बताउँनुहुन्छ । पुर्खा समेत यही गाउँमा रहेको सम्झनुहुन्छ उहाँ ।

दैनिकी यसरी नै चलिहेको अवस्थामा जब ६ महिना अघि विश्वभर फैलिएको कोरोना भइरसका कारण नेपाल भारत आवत– जावत बन्द भयो, यो गाउँको मुहार नै फेरिएको उहाँको भनाइ छ । सीमा नाका सुरक्षाको लागि सो गाउँमा सशस्त्र प्रहरी बलको उपस्थिती भएपछि गाउँमा नै सुरक्षाको अनुभूति भएको उहाँले सुनाउँनुभयो । सोही गाउँमा सञ्चालनमा आएको मेची आधारभूत विद्यालय कोरोनाका कारण बन्द भएपछि सोही विद्यालयमा रहने गरी सशस्त्र प्रहरीको एक टोली आएको उहाँको भनाइ छ । टोलीलाइ फिर्ता जान नदिन केही मान्छे लागि परे भने केहीले यहाँ राख्न उचित नहुने तर्क गरेका थिए ।

यसै विषयलाइ लिएर भएको छलफलमा सशस्त्र प्रहरीलाइ जग्गा दिएर यही स्थापना गराउने भन्दै उहाँले ४ कठ्ठा जग्गा सशस्त्र प्रहरीलाइ दिने घोेषणा गरेको बताउँनुभयो । अवैध कारोबार गर्नेलाइ प्रहरी खाडो छ भने अन्यलाइ प्रहरी बसेकोमा खुसी देखिएको उहाँको भनाइ छ ।

छिमेकीले चार कठ्ठा जग्गा दिने थाहापाएपछि मैलेपनि एक कठा दिने घोषणा गरेको कप्लेश्वर महतोले बताउँनुभयो । सीमाना मिल्ने भएकोले थोरै भएपनि निःशुल्क दिएको उहाँको भनाइ छ । अहिलेको समयमा सशस्त्र प्रहरीको ठुलो आवश्यक्ता ठानेर जग्गा उपलब्ध गराएको उहाँहरुको भनाइ छ । प्रहरी बसेपछि कुनै डर नभएको र गाउँमा शान्ति छाएको उहाँहरुको भनाइ छ ।

जग्गा नभएका कारण सशस्त्र प्रहरीको विजोक देखेर स्थानीय दुइ जनाले दया गरेको प्रस्तावित महेशपुर विओपीका सइ युवराज राउतले बताउँनुभयो । २०७६ फागुन देखि स्कुलको जग्गामा बस्दै आइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीयले जग्गा दिने भएपछि वडा मार्फत भद्रपुर नगरपालिकामा प्रकृयामा रहेको सशस्त्रका प्रहरी गण नम्बर २ झापाका एसपी रमेश कुमार पाण्डेले बताउँनुभयो । यो वर्ष झापमा ९ वटा विओपी स्थापना गर्ने विभागको अभियान अन्र्तगत जग्गा खोजीको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।