बालबालिका सम्वन्धि एकिकृत योजना बनाउन मन्त्री गुरुङको अपिल

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाएर अघि बढ्न आग्रह गरेका छन । मन्त्री गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संघ, संस्थाहरुले एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित गराउने अभियान प्रभावकारी हुन नसक्ने स्पष्ट पारे ।

‘एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित गर्ने राष्ट्रिय अभियान अधुरो रहनेछ,’ बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम–नेपालले बुधबार भर्चुअल माध्यमबाट आयोजना गरेको २१ औं वार्षिक साधारणको उद्घानन सत्रमा बोल्दै मन्त्री गुरुङले भने, ‘बाल अधिकार सुनिश्चित गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन पनि एकीकृत कार्यक्रम बनाएर अघि बढन म सम्बद्ध सरकारी तथा गैरसरकारी संघ, संस्थाहरुलाई अपिल गर्दछु ।’

उनले बालबालिकासँग केन्द्रित कार्यक्रमलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर मन्त्रालयसँगको सहकार्यमा जोड दिएको समेत बताए । मन्त्री गुरुङले ‘बालमैत्री नेपाल‘ निर्माण हुनेगरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना बनाउने कामलाई तीब्रता दिइएको पनि स्मरण गराए ।

राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थालाई एउटै कार्यक्रमका साथ अघि बढाएर बाल अधिकार सुनिश्चित गराउने अभियानलाई सार्थक बनाउन लागिपर्ने मन्त्री गुरुङको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बाल अधिकारसँग सम्वन्धित संस्थाहरुलाई एकिकृत योजना बनाई कार्यान्वयनको लागि नेतृत्वदायी भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

बाल अधिकारकर्मी तारक धिताल लगायतले बालबालिकाको हितका लागि उनीहरुको अर्थपूर्ण सहभागितामा मात्रै नीति र कार्यक्रम बनाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उक्त कार्यक्रम कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।