सिन्धुपाल्चोक प्रहरीद्वारा ‘दुर्घटना न्यूनिकरण अभियान २०७७’ सुरु

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

चाडपर्व नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनिकरणमा सिन्धुपाल्चोक प्रहरीले अभियान सुरु गरेको छ । मंगलबार बलेफी गाउँपालिका ७ स्थित खाडीचौरमा एक कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफीक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण अभियान २०७७ सुरु गरेको हो ।

सडक र सवारी संग सम्बन्धित तथा सरोकारवालाहरु भेला गरेर सवारी दुर्घटना रोक्न प्रहरीले तदारुकता देखाएको छ । ‘चाडपर्वका समयमा दुर्घटनाको जोखिम धेरै छ, सम्भावित दुर्घटना रोक्न सरोकारवालाहरुसँग साझेदारी गर्दै सचेतना अभियान सुरु गरेका हौँ’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भन्नुभयो ।

सवारी दुर्घटना न्यूनिकरण अभियान आरम्भ समारोहमा स्थानीय सरकार प्मुख, यातायात व्यवसायी, संचारकर्मी र स्थानीय अगुवाहरुले दुर्घटना रोक्न हातेमालो गर्दै जुट्ने प्रण गरेका छन् । सवारी दुर्घटनाका घटनाबाट सिनधुपाल्चोकले भयावह क्षति व्यहोरिरहेको स्मरण गर्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले सरोकारवालाहरु जुटेर नै दुर्घटनाका घटना रोक्नुपर्ने बताउनुभयो । यातायात व्यवसायी र ट्राफीक प्रहरीबीच समझदारी भएमा दुर्घटना न्यूनिकरण हुने भन्दै अध्यक्ष क्षेत्रीले व्यवसायी—प्रहरीबिच असमझदारीको अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।

‘ट्राफीक प्रहरी र यातायात व्यवसायीको उदेस्य यात्रुलाई सुरक्षित तबरले गन्तव्यमा पुर्‍याउने नै हो’, उहाँले भन्नुभयो, ‘समान उदेस्यका यी दुई पक्षबिच समझदारी हुनसके दुर्घटना स्वत न्यूनिकरण हुनेछ ।’ अध्यक्ष क्षेत्रीले सवारी दुर्घटना न्यूनिकरणमा स्थानीय सरकार प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सवारी नियमको पालना हुन सके दुर्घटना न्यूनिकरण हुने बताउनुभयो । सवारी नियम मिच्ने जोकोहीलाई पनि आवस्यक कार्वाही गर्नुपर्ने र बिचार र ब्यक्तिगत सम्बनधका आधारमा छाड्न नहुनेमा अध्यक्ष जिसीले जोड दिनुभयो । ‘सवारी दुर्घटना न्युनिकरणमा हामी प्रहरीसँगै जुटेर लाग्नेछौँ’, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले सडक दुर्घटनाका क्षति कहालीलाग्दो रहेको स्मरण गर्दै मानविय कारणले नै सवारी दुर्घटना हुने बताउँनुभयो। मानविय संयमता र सावधानीले नै दुर्घटना रोक्न सकिने बताउनुभयो ।‘मुख्यतः मानविय कारण ले नै दुर्घटना हुने हो, सबै पक्ष ईमानदार भइदिने हो भने दुर्घटना रोक्न सकिन्छ’, जिल्ला प्रहरी प्रमुख अधिकारीले भन्नुभयो । यातायात व्यवसायी, यात्रुबर्ग, चालक, ट्राफीक प्रहरी ईमानदार हुनुपर्ने भन्दै उहाँले दुर्घटना न्यूनिकरणको अभियान सबैको अभियान हुनुपर्ने बताउनुभयो ।

‘असावधानी, लापर्वाही, मादकपदार्थ सेवन र मोवाई फोनका कारण दुर्घटना हुने गरेको अधिकारीले प्रस्ट्याउनुभयो । ‘मोवाईल फोन प्रयोग गरेर सवारी चलाउने कुरा मादक पर्दा सेवन भन्दा पनि खतरापूर्ण रहेको अध्ययनले देखाएको’, उहाँले भन्नुभयो, ‘यातायात व्यवसायीका प्रतिस्पर्धाका कारण पनि सडक दुर्घटना भइरहेको देखिन्छ ।’ सरोकारवाला र सम्बन्धित पक्ष सबै जुटेर सडक दुर्घटना रोक्नका लागी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।