मालपोत कार्यालय कोरोना संक्रमणको अखडा

0
Shares

कृष्णउदास खनाल,हेटौंडा ।

नागरिकहरुको अत्याधिक चाप रहने मकवानपुरका सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको भीड बढेसँगै कोरोना संक्रमणको जोखिम समेत बढेको छ । जिल्ला मालपोत कार्यालयमा दैनिक सयौं संख्यामा नागरिकहरु सेवा लिनका लागि आउने गरेपनि सामाजिक दुरी र मास्क अनिवार्य नहुँदा मालपोतबाट नै कोरोनाको जोखिम उच्च देखिएको स्यवम् सेवाग्राहीले नै बताएका छन् ।

जिल्ला मालपोत कार्यालय मकवानपुरले हात धुनेसम्मको ब्यवस्था गरेको भएपनि त्यसतर्फ नागकिरहरुको खासै चासो गएको देखिदैन । कार्यालयले अन्य कुनै कोरोनाबाट आम नागरिकहरुका लागि जोगाउनका लागि कुनै उपाय अवलम्बन नगरेको हेटौंडा ७ का सेवाग्राही रमेश पौडेलले गुनासो गर्नुभयो ।

राजश्व लिने राज्यको अखडाको चाला हेर्दा उसैका कारण मकवानपुरको गाउँगाउँमा संक्रमण बिस्तार हुने अवस्था आउन सक्ने बताउनुभयो । तर,मालपोत कार्यालय मकवानपुरका प्रमुख बासुदेव खतिवडाले भने कोरोनाबाट जोगाउनका लागि कार्यालयले उच्च सावधानी अपनाएको दाबी गर्नुभयो तर कार्यालय नै साँघुरो ठाउँमा रहेका कारण भने जसरी सेवा लिन र मापदण्ड पूरै प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो ।

कार्यालयमा प्रवेश गर्नेलाई मास्क अनिवार्य लगाउन भनिएको उहाँले दाबी गरेपनि उहाँको कार्यकक्षमा पुग्दा उहाँ आफै खल्तीमा मास्क राखेर सेवाग्राहहरुलाई सेवा दिइरहनु भएको थियो ।

यसो किन गर्नु भएको भन्दा लगातार मास्क लगाउदा अप्ठेरो भएको तर्क उहाँको थियो । मालपोत कार्यालयमा कर्मचारीहरुले थोरै सावधानी अपनाएको जस्तो देखिएपछि सेवाग्राही भने ठेलमठेल गरेर सेवा लिइरहेका थिए । मकवानपुरमा हाल दैनिक ५० को संख्यामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ ।

नागरिकहरुको चाप रहने सरकारी कार्यालयहरुमा बिशेष सावधानी नअनाए स्थिति भयाभह हुन सक्ने पटक पटक स्वास्थ्य मंत्रालयले चेतावनी दिँदै आएपनि मकवानपुरमा भने कार्यान्वयन फितलो देखिएको हो । .मालपोत कार्यालयमा दैनिक पाँचजना भन्दा बढी सेवा लिन आइरहेको तथ्यांक सो कार्यालयसँग रहेको छ ।