डोटीको नाचन्थली बजार सिल


डोटी, (नेस)
सदरमुकाम सिलगढीस्थित वडा नं. ६ मा रहेको नाचन्थली बजार सिल गरिएको छ । उक्त बजारका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।
दिपायल सिलगढी नगरपालिकामा शनिबार बसेको आकस्मिक बैंठकले उक्त वडाका अरू व्यक्तिमा कोरोना सर्न नपाओस् भन्दै नाचन्थली क्षेत्र सिल गरिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । नगर प्रमुख मलासीका अनुसार नगरपालिकाले तत्काल ‘नाचन्थली मोडदेखि कालिका मन्दिर’ सम्मको क्षेत्र सिल गरेको हो ।
त्यसै गरी, कोरोना संक्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गर्ने कार्यका लागि कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । उता उक्त वडामा रहेको कृर्षि विकास बैंकमा कार्यरत एक अर्का व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको कृर्षि विकास बैंकका प्रमुख दीर्घबहादुर शाहको कथन छ ।
पछिल्लो समय यहाँका समुदायका व्यक्तिमा समेत कोरोना संक्रमण देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगर प्रमुख मलासीले आग्रह गर्नुभएको छ ।