जिल्ला अधिकारीसहित ६ कर्मचारीमा कोरोना


सर्लाही, (नेस)
जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित कार्यालयमा कार्यरत छ जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि एक साताको लागि सेवा बन्द गरिएको छ ।
शनिबार दिउँसो आएको रिपोर्टमा प्रमुख जिल्ला अधिकारी पौडेल, उहाँका एक जना सुरक्षागार्ड, प्रशासकीय अधिकृत, राहदानी फाँटमा कार्यरत महिला कर्मचारीसहित ६ जनामा कोरोना देखिएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामप्रमोद यादवले बताउनुभयो ।
केही दिनअघि प्रशासन कार्यालयका एक नायव सुब्बामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि गएको बिहीबार जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारी र थुनुवा गरी ७१ जनाको स्वाब परीक्षणका लागि पठाएको थियो । त्यसमध्ये पाँच जना प्रशासन कार्यालयका कर्माचारी र पाँच जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी यादवको कथन छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमै बस्न भनिएको छ ।