कोरोनाले स्थानीय तहका सेवा प्रवाह प्रभावित


नेपाल समाचारपत्र, ललितपुर

कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय तहका सेवा प्रवाहहरु प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयबाट जारी निषेधाज्ञा हटे पनि भदौ मसान्तयता कोरोना संक्रमितहरुको संख्या बढ्ने मात्र नभई जनप्रतिनिधिहरु पनि संक्रमित हुन थालेका छन् । यसले गर्दा स्थानीय तहको सेवाप्रवाहको एकाइ रहेको वडा कार्यालयहरु बन्द हुन थालेका छन् ।

आज आइतबारदेखि गोदावरी नगरपालिकासहित १४ वटै वडाहरुमा विपद्, स्वास्थ्यका सेवाहरुबाहेक सबै बन्द रहने नगरपालिका जनाएको छ । कोरोना संक्रमितहरुको संख्या बढेको छ । कर्मचारीहरु र जनप्रतिनिधिहरुमा संक्रमित हुने अवस्था आएपछि यस्तो निर्णय गर्नुपरेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । त्यसै गरी ललितपुर महानगरपालिकाका विभिन्न वडाहरुमा पनि सेवा प्रवाह ठप्प हुन थालेको छ ।

ललितपुर महानगरपालिका १२ का वडाध्यक्ष नारायणलाल अवालेमा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालय बन्द गरिएको छ । अर्का वडाध्यक्ष विनोद ताम्रकारमा पनि कोरोना पोजिटिभ देखिएपछि वडा नं १९ कार्यालय बन्द गरिएको छ । २२ वडा पनि बन्द नै छ । ३ बाहेक अन्य वडाहरु दैनिक दुई घण्टा मात्र खुल्ने गरेका छन् । यसले गर्दा सेवा प्रभावित भए पनि सर्वसाधारणले स्वभाविक रुपमा लिएका छन् ।

२० वडा कार्यालयहरु पनि बन्द गरिएको छ । अहिले कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । त्यसले गर्दा वडा कार्यालयहरुबाट सेवा लिनुपर्ने सेवाग्राहीहरुले अनलाइनको माध्यमबाटै आवश्यक कागजात पठाउन विभिन्न वडाहरुले सार्वजनिक सूचना प्रवाह गरेको छ । वडाहरुमा कोरोना संक्रमितहरुको संख्या बढे पनि समुदायस्तरमा आइसोलेसन कक्ष, क्वारेन्टाइन निर्माणतर्फ स्थानीय तहको ध्यान नगएकोमा कार्यपालिका सदस्यहरुमा पनि असन्तुष्टि देखिएको छ ।

‘कोरोनाको लागि १९ करोड बजेट विनियोजित गरिएको छ । खोइ त्यो पैसा कहाँकहाँ कति खर्च भयो? अब कहाँ खर्च गर्ने? अहिलेसम्म वडाध्यक्षहरुलाई कुनै जानकारी गराएको छैन ।’ –महानगरपालिको ५ वडाका वडँध्यक्ष विकासमान श्रेष्ठले भन्नुभयो ।