स्थानीय जनप्रतिनिधिलाई अभिमुखीकरण


नेपाल समाचारपत्र, काठमाडौं

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र वल्र्ड भ्यू नेपालको संयुक्त आयोजनामा नौ दिने ‘गाउँपालिकाहरूका लागि प्रभावकारी सञ्चार र सूचना सञ्जालीकरण विषयक भर्चुअल अभिमुखीकरण कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ ।

देशका सबै गाउँपालिकाका लागि शुरु भएको यस अभिमुखीकरणमा गाउँपालिका प्रवक्ता, दलित महिला सदस्य र सूचना प्रविधि अधिकृत गरी करीब १ हजारभन्दा बढी व्यक्तिले भाग लिएको आयोजकले जनाएका छन् ।

देशका चार हजार ६० गाउँपालिकाहरलाई १७ भिन्न क्लस्टरमा विभाजन गरेर यो भर्चुअल कार्यक्रम भएको थियो । कार्यक्रमको उद्देश्य गाउँपालिकाका प्रवक्ताहरू, दलित महिला पालिका सदस्य र सूचना प्रविधि अधिकृतलाई प्रभावकारी सञ्चार सीप प्रदान गरी पालिकाको गतिविधिलाई प्रभावकारीरुपमा सम्प्रेषण गर्न सहयोग पु¥याउने रहेको छ ।

भर्चुअल अभिमुखीकरण कार्यक्रममा सामाजिक सञ्जालका माध्यमहरूको प्रभावकारी उपयोग र अवसरहरू, वेभमा आधारित एप्लिकेसन, इलेक्ट्रोनिक डिभाइस र इन्टरनेट सेक्युरिटीको प्रयोग र महत्व, गाउँपालिका निर्णय तथा सूचनाहरूको सार्वजनिकीकरण, सञ्चार माध्यमहरुसँगको सम्बन्ध व्यवस्थापन, समाचार तथा प्रेस नोटहरुको लेखन र अन्तर्वार्तामा ध्यान दिनुपर्ने कुराहरु, साइबर सेक्युरिटी र सामाजिक सञ्जाल प्रयोगका रणनीतिजस्ता विषय समावेश गरिएका छन् ।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी केदार शर्मा र रमेश खड्काले गर्नुभएको छ । गाउँपालिका महासंघबाट भएका प्रस्तुतिहरुमा विमल पोखरेल, राजेन्द्र प्याकुरेल, आशीष मानन्धर, गीता श्रीस, नीता राउतले भिन्न दिनमा सहजीकरण गरिरहनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भर्चुअल माध्यमबाट भएको कार्यक्रमले सामाजिक सञ्जालका माध्यमहरुलाई कसरी सकारात्मकरुपमा उपयोग गर्ने र गाउँपालिकाहरुमा भएका असल अभ्यासलाई कसरी सञ्जालीकरण गर्ने सम्बन्धमा महत्वपूर्ण सिकाइ हुने आशा प्रकट गर्नुभएको छ । प्रभावकारी सञ्चारसम्बन्धी अनुशिक्षण कार्यक्रममा सहभागीहरुले कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभएको छ ।

देशभरका चार सयभन्दा बढीे गाउँपालिकाको प्रतिनिधित्व भएको यस कार्यक्रमले गाउँपालिकाहरुमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी स्थानीय सरकारका लागि सामाजिक सञ्जालको महत्व र उपदेयताबारेको अनुशिक्षणमा गाउँपालिका प्रवक्ता, दलित महिला कार्यपालिका सदस्य र सूचना प्रविधि अधिकृत गरी एक हजारभन्दा बढीको सहभागिता रहेको थियो ।