डलर साट्ने बहानामा १ करोड १५ लाख ठगी गर्ने १२ पक्राउ

लुटपाट गर्ने समूह दुई परिवारका सदस्य र एउटै नगरपालिकाका


पुष्कर बुढाथोकी, भक्तपुर

सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्तिबाट १ करोड १५ लाख १० हजारभन्दा बढी रकम ठगी गर्ने गिरोहका मुख्य नाइकेसहित पक्राउ परेका १२ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको छ ।

केही समयदेखि शृंखलाबद्धरुपमा डलर देखाई लुटपाट गर्दै आएका समूह एउटै परिवारभित्रका सदस्य र प्रायः सबै एउटै स्थानका बस्ने रहेको खुल्न आएको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा डलर देखाई लुटपाट गर्ने समूह काठमाडौं उपत्यकामा विभिन्न पेसा व्यवसाय गरी बस्ने एउटै परिवारका सदस्य र एकै स्थानमा बसोबास गर्ने छिमेकीहरु भएको खुल्न आएको हो।

प्रहरीले फरकफरक दिनमा गिरोहमा संलग्न रहेकाहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–१ बस्ने दाजुभाइ ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, एउटै परिवारका बाह्रबिसे–६ घरभई मध्यपुरथिमि–९ बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ, कान्छी तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–३ का घर भई हाल मध्यपुरथिमि चारदोबाटो बस्दै आएका एकै परिवारका २३ वर्षीय विमल भण्डारी, २१ वर्षीय निर्मल भण्डारी, बाह्रबिसे–२ का ३३ वर्षीय राजकुमार तामाङ, बाह्रबिसे–४ घर भई लोकन्थली बस्दै आएका ३१ वर्षीय धनबहादुर भण्डारी, बाह्रबिसे–२ घर भई सुडाल बस्ने २८ वर्षीय कमल भण्डारी, बाह्रबिसे–४ घरभई कालोपाटी बस्ने २७ वर्षीय राकेश भण्डारी, बाह्रबिसे–३ घर भई बालाजु बस्ने ३९ वर्षीय सञ्चबहादुर योञ्जनलाई पक्राउ गरी ठगिसम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जग्गा व्यवसाय, ट्रक चालक, ट्याक्सी चालक र मजदुरका रुपमा कार्यरत एउटै परिवारभित्रका सदस्यले व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिलाई सस्तोमा डलर साट्ने वहानामा लोभमा पारी लुटपाट गर्दै आएको खुलेको छ ।

अनुसन्धानको क्रममा यो समूहको विभिन्न १८ वटा लुटपाटका घटनामा संलग्नता देखिएको छ । घटनामा हालसम्म १ करोड १५ लाखभन्दा बढी रकम लुटिएको खुल्न आएको छ। पीडितहरु सम्पर्कमा आउने क्रम जारी रहेकाले पीडित र रकम बढ्न सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले सार्वजनिक गरेका १२ जनामध्ये ५ जनालाई प्रहरीले मध्यपुर थिमि–९ बोडेबाट गत असोज ९ गते पक्राउ गरेको थियो। पक्राउ पर्नेमा गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित शुक्रबार पक्राउ गरेको हो । भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक थापाले ठगी गर्ने गिरोह सक्रिय भएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेर गिरोहलाई पक्राउ गरेको बताउनुभयो ।

यही असोज १८ गते मध्यपुरथिमिस्थित असोज २० मा दिव्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा व्यापार गर्ने प्रकाश बुढाथोकीको बा१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर चार लाख रुपियाँ लुटेर फरार खड्कालाई प्रहरीले सानोठिमीबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ५ लाख ९४ हजार ४७५ नगद, १२ थान मोबाइल, ५ थान मोटरसाइकल, ४६० अमेरिकी डलर र ५ बन्डल कागज बरामद गरेको छ । पक्राउ परेका मध्ये डलर सटहीमा ठगी गर्दै आएका खेलबहादुर तामाङ २०६४ सालमा चैतमा एकवर्ष कारागार बसेर १२ लाख रुपियाँ धरौटीमा छुटेको भए पनि पुनः ठगीकै कामबाट आएको पैसाले काठमाडौं जर्सिङपौवामा श्रीमतीको नाममा ३६ आना जग्गा खरिद गरेको, रेल बहादुरले बाह्रबिसेमा कुखुरा फार्म सञ्चालन गर्नुको साथै होटलमा लगानी गरेको पाइएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले अनुसन्धानमा क्रममा डलर साट्ने बहानामा ठगी गर्न सक्रिय रहेकाहरुसबै बाह्रबिसे नगरपालिकाका भएका, कतिपय एकैघर परिवारका रहेको पाइएको जानकारी दिनुभयो । उहाँले लकडाउन शुरु भएपछि ठगी गर्ने गिरोह सक्रिय भएको बताउनुभयो । कागजको ब्यान्डलमा तल र माथि डलर राखेर देखाउने र रुमालमा पोको पारेको कागजको बन्डल दिएर नेपाली पैसा लिई फरार हुने गरेका थिए ।