सरकार र केसी पक्षबीच सहमति


काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने लगायतमा सहमति भएकाे उल्लेख छ ।

डा. केसीले भोलि आइतबार विहान ९ः३० बजे अनसन तोड्नेछन् ।

हेर्नुहाेस सहमतिः

‘सरकारले डा. केसीको ज्यानै लिन खोज्यो’

भगवती तिमल्सिना, काठमाडौं

डा. गोविन्द केसीको १९औं सत्याग्रहप्रति सरकारले देखाएको व्यवहारले सरकार उहाँको ज्यान लिन चाहन्छ भन्ने देखाएको उहाँका सहयोगीहरुले टिप्पणी गरेका छन् ।

डा. केसीको आज २८औं दिन भइसकेको छ । डा. केसीको स्वास्थ्य निकै नाजुक भइसकेको चिकित्सकहरु बताउँछन् । यसबीचमा नेपाल सरकार र डा. केसीतर्फको वार्ता टोलीबीच दुई दिनसम्म वार्ता भइसकेको छ । त्यस क्रममा सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयलगायतका पदाधिकारीसित छलफल, परामर्श र गृहकार्य गरेको थियो ।

दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा. केसीले राख्नुभएका मागहरु सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो ।

असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त समmभदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभँत विषयमा फरक कुरा समेट्ने प्रयास गरेपछि उहाँका सहयोगीहरुले सरकारले ज्यान लिन चाहेको आरोप लगाएका हुन् ।

अनौपचारिक पहलका क्रममा डा. केसी केही बुँदामा थप लचिलोसमेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो । तर असोज २३ गते शुक्रबार दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ ग¥यो ।

साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा. केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।

त्यसैले डा. केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आई ज्यानै जानसक्ने सम्भावना रहेकाले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्रिपरिषद्बाट पारित गर्न सरकारसामु उहाँका सहयोगीहरुले माग गरेका छन् ।

यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्याह्न १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन सबै नागरिकलाई अपिल गरियो ।

डा. गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले भन्नुभएको छ– ‘सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं ।’

यसैबीच, नेपाल चिकित्सक संघले मागका पक्षमा फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । केसीका माग र उहाँको अनशनप्रति सरकार उदासीन भएको भन्दै संघले आन्दोलन चर्काउने चेतावनी दिएको हो ।

सरकारले टोली बनाएर वार्ता आह्वान गरेपछि संघले शुक्रबार आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । २ दिनसम्म सरकार र डा. गोविन्द केसी पक्षबीच भएको वार्ता सहमतिमा पुग्न नसकेपछि थप आन्दोलनको तयारी गरिएको हो ।