चाडबाडमा संक्रमण


सरकारले पुनः लकडाउन गर्ने हल्लाले यो वर्षको चाडवाड घरभित्रै हुने हो कि भन्ने आशंका शुरु भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न सिफारिस गरिसकेको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २६ हजारको हाराहारीमा पुगिसकेको छ ।

यस्तो अवस्थामा लकडाउन गर्नुको विकप्ल नभएको स्वाथ्य मन्त्रालयको भनाइ छ । तर लकडाउनबाटै समस्याको समाधान हुने अवस्था छैन । पुनःलकडाउन गर्दा देशको अर्थतन्त्र ध्वस्त हुन्छ । बेरोजगारीको संख्या थेगिनसक्नु हुन्छ । व्यापार ब्यावसाय गर्नेको सडकमा वास हुन्छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेको बेहाल हुन्छ । उनीहरुको परिवारको विचल्ली हुन्छ ।

यस्तो अवस्थामा लकडाउनको विकल्प खोज्नु सरकारको दायित्व हो । पछिल्लो समयमा स्वाथ्यमन्त्री भानुभक्त ढकालले अब लकडाउन नहुने घोषणा गरिसक्नुभएको छ । तैपनि सरकारले कोरोना संक्रमणको कारण भयावह अवस्था आउन नदिन लकडाउनको विकल्प देखेको छैन ।

विषेशगरी उपत्यकामा दैनिक संक्रमितको संख्या एक हजार हाराहारीले बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण समुदायमा पुगिसकेको आशंका गरेको छ । स्वाथ्य मन्त्रालयले स्वास–प्रश्वासका समस्या भए वा आफू बेहोस हुन लागेको भान भएपछि मात्र अस्पताल जान भनेको छ ।

यसको मतलब कोरोना संक्रमणबाट जटिल समस्या देखिएपछि मात्रै अस्पताल जान आग्रह गरेको प्रष्ट बुझ्न सकिन्छ । यसले के देखाउँछ भने कोरोना संक्रमणको उच्च जोखिममा रहेको उपत्यकाको अवस्था थप जटिल बन्दै गएको छ । अस्पतालका सबै कोभिड–१९ को उपचारको लागि तयार गरिएको भेन्टिलेटर र आइसियु भरिभराउ भैसकेको छ ।

अब यसको अन्तिम अस्त्र भनेको कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्ने र घरेलु औषधी सेवन गर्ने मात्र हो । पछिल्लो समय लकडाउन हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको छ । लक डाउन खोल्दा करिब १५ हजार सक्रिय संक्रमित थिए । अहिले संक्रमण बढेर २६ हजार पुगेको छ ।

सरकारले सबै जनताले स्वाथ्य मापदण्ड पालना गर्ने अपेक्षासहित लकडाउन हटाएको थियो । अहिले त्यसको ठिक विपरीत भएको छ । बाटामा हिड्ने बटुवा होस वा कर्मचारी, व्यापारी होस वा उद्योगमा काम गर्ने मजदुर अधिकांशले स्वाथ्य मापदण्ड पालना नगरी मनपरी हिड्डुल गर्दा विषेशगरी राजधानीमा संक्रमित संख्या बढेको छ ।

सरकारले पटक–पटक मास्क लगाउन आग्रह गर्दा पनि अटेर गर्ने सेनिटाइजर प्रयोग नगर्ने, रेष्टुरेन्ट र सपिङमलमा भीड गर्ने लगायतका कारणले कोरोना संक्रमितको ग्राफ उचाइमा पुगेको छ ।

अन्ततः जनता आफै सचेत भएर स्वाथ्य मापदण्ड पालना गर्दा पुनः लकडाउन गर्नुपर्ने अवस्था आउँदैन होला । जनता सचेत भएर स्वास्थ्य मापदण्ड पालना गरे सबै समस्या समाधान हुन्छ । कोरोना संक्रमितको संख्या घट्छ र सरकारले पुनः लकडाउन गर्ने हल्ला निराधार सावित हुनसक्छ । त्यसैले जनता आफै सचेत होऔं, फेरि लकडाउन गर्ने वातावरण बन्न नदिऊँ । यो नै सबैभन्दा उत्तम उपाय हो ।