ललितपुर प्रमुख कोरोनामुक्त

0
Shares

ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोनामुक्त हुनुभएको छ । बुधबार साँझ पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एक साता होम आइसोलेसनमा बसेपछि थप उपचारका लागि उहाँ स्टार हस्पिटलमा भर्ना हुनुभएको थियो । असोज ९ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनामुक्त भए पनि चिकित्सकहरुको सुझावबमोजिम स्वास्थ्यमा ध्यान दिनुपर्ने भएकाले उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘महानगरपालिकामा पूर्णकालीन सेवा र भेटघाटका लागि केही समय लाग्ने जानकारी गराउँदै शुक्रबारबाट आफ्नो कार्यभार सम्हाल्ने अवगत गराउँदछु ।’

प्रमुख महर्जनले आफ्नो उपचारमा अग्रपंक्तिमा रहेर काम गर्नुहुने अस्पतालका डाक्टरहरु अनिल पोखरेल, निरोज हिराचन, फिलिप श्याम रंजित, दीपेन्द्र कार्कीलाई धन्यवाद दिनुभएको छ । साथै विज्ञप्तिमा नर्सहरु रश्मिला थपलिया, सगुन केसीको समूहसमेत धन्यवादको पात्र भएका जनाउँदै स्टार हस्पिटल अध्यक्ष किशोर महर्जन र मेडिकल डाइरेक्टर डाक्टर शैल रूपाखेतीले उपचारको क्रममा देखाउनुभएको चासो, गर्नुभएको सहयोग र समन्वयप्रति आभार व्यक्त गरेको जनाइएको छ ।

होम आइसोलेसन र अस्पतालमा बस्दा मोबाइल, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना र शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण नगरबासी, राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री ईश्वर पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, शताब्दी पुरुष सत्यमोहन जोशीलाई समेत उहाँले धन्यवाद दिनुभएको छ । नेपालस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीहरु विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी धन्यवाद दिएको उल्लेख छ ।