सरकारीस्तरबाट कोरोना परीक्षण शुरु

0
Shares

कविराज नेपाल, पाल्पा
अब पाल्पाका कोरोना आशंकितहरुले कोरोना पुष्टि गर्नका लागि अन्य स्थानमा जानुनपर्ने भएको छ । सरकारीस्तरबाटै पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण शुरु भएपछि यो बाध्यता हटेको हो ।
बिहीबारबाट पाल्पाको तानसेनमै परीक्षण शुरु भएको छ ।

अब कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भए नभएको परीक्षण तानसेन यहाँको पाल्पा अस्पतालअन्तर्गत रहेको कोरोना परीक्षण प्रयोगशालामार्फत तानसेन नगरपालिकाको काजीपौवाबाट हुनेछ ।

सरकारले गत असार महिनामा पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन खरीदका लागि स्विकृति प्रदान गरेको थियो भनेपछि यसका लागि एक करोड रुपियाँ विनियोजना गरेको थियो ।

परीक्षण केन्द्रमा परीक्षण मेसिन र आवश्यक किट र सामग्री उपलब्ध भएर पूर्वाधार विकासलगायतका काम पूरा भएपश्चात् परीक्षण शुरु गरिएको र बिहीबारदेखि सर्वसाधारणको नमुना परीक्षण गरिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्ष पाण्डेका अनुसार बुधबार केही स्वाब परीक्षण गरिए पनि बिहीबारदेखि विधिवत्रुपमा कोरोना परीक्षण कार्य थालिएको हो । ‘अब परीक्षणका लागि नमुना भैरहवा, काठमाडौं पठाउनुपर्ने बाध्यता नरहने र पाल्पाका सबै नमुना तानसेनमै परीक्षण हुनेछन्’, उहाँले भन्नुभयो– ‘पाल्पामै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि ४÷५ घण्टामा बिरामीले पाउनेछन् ।’

केन्द्रमा परीक्षण गर्न आउँदा स्थानीय तह र स्वास्थ्य संस्थासँगै स्वास्थ्य कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

केन्द्रका इन्चार्ज खिलध्वज कार्कीले भन्नुभयो– ‘मंगलबार र बुधबार लगाएर मेसिन जडान भयो, बिहीबारबाट नमुना परीक्षणको काम थालेका छौं’। मेसिनको प्रतिघण्टा ९६ जनाको स्वाब परीक्षणको क्षमता रहे पनि केही प्राविधिक कारणले गर्दा अहिलेलाई ९० जनाको मात्र परीक्षण गर्न सकिने र तत्कालका लागि एक सिफ्टमा ४४ जनाको मात्र स्वाब परीक्षण गरिनेछ ।

प्रयोगशालामा दैनिक तीन सिफ्टमा १ सय ३२ जनाको स्वाब परीक्षण गरिने बताइएको छ । कोरोना परीक्षणका लागि दैनिक बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता र स्वाब परीक्षण दैनिक १२ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ भने परीक्षण शुल्क २ हजार लाग्ने र स्वास्थ्य कार्यालयबाट सिफारिस भइआउनेको निःशुल्क परीक्षण गरिने बताइएको छ ।

यसअघि जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला रूपन्देही र काठमाडौंको पठाउने गरिएको थियो । परीक्षण शुरु भएसँगै अब जिल्लाहरुबाट नमुना संकलन गर्दै परीक्षणलाई तीव्रता दिइने पाल्पा अस्पतालले जनाएको छ ।