सरकार–डा. केसी वार्ता सकारात्मक बन्दै

0
Shares

भगवती तिमल्सिना, काठमाडौं

डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीचको वार्ता जारी नै छ । जारी वार्ता सकारात्मक रहेको र आज शुक्रबारसम्म सहमतिमा पुग्ने डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभएको छ । वार्ता सकारात्मकरुपमा चलिरहे पनि सत्याग्रही डा. केसीलाई सास फेर्न गाह्रो भएर अक्सिजनको मात्रा बढाउनुपरेको उपचारमा संलग्न डा. तोसिमा कार्कीले जानकारी गराउनुभएको छ ।

वार्तामा उठेका सवालमाथि थप गृहकार्य गर्नुपरेकाले दुवै पक्ष आन्तरिक छलफलमा जुटेको, वार्ता रातिसम्म भए पनि टुंग्याउने तयारीमा लागेको वार्तामा सहभागी डा. केसी पक्षका प्रितम सुवेदीले बताउनुभएको छ । बँुदागत छलफल र सहमतिको बुँदा दुवै पक्षको आन्तरिक छलफलबाट टुंगो लगाउन समय लाग्न सक्ने संकेत गर्दै उहाँले वार्ता सकारात्मक भएको बताउनुभयो ।

चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९औं पटकको अनसनमा बस्नुभएका डा. केसीको जीवन बचाउनका लागि २५औं दिनमा चौतर्फी दबाब भएपछि बुधबार गठन गरिएको सरकारी वार्ता टोलीसँग केसीका तर्फबाट तोकिएका वार्ताटोलीको बिहीबार बिहान १०ः३० देखि शुरु भएको छलफल राति अबेर चलिरहेको छ ।
वार्ता टोलीमा सरकारका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजनमा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मासहितको तीन सदस्य रहेका छन् ।

त्यसैगरी अनशनरत डा. केसीका तर्फबाट संयोजक डा. जीवन क्षेत्री, सदस्यहरु डा. अञ्जनीकुमार झा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, डा. लोचन कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष, ओम प्रकाश अर्याल कानूनविद्सहितको टोली रहेको छ । वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भइरहेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको डा. केसीको उपचार गर्दै आउनुभएका टीमका ंसंयोजक प्राडा सुवासप्रसाद आचार्यका अनुसार डा. केसीको शरीरमा अत्यावश्यक तŒवहरुको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको बिहीबार जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।गत भदौ २९ गतेदेखि जुम्लाबाट अनशन शुरु गर्नुभएका डा. केसीको जीवन रक्षाका लागि देशव्यापीरूपमा चिकित्सकले आकस्मिक र कोभिडबाहेकका सेवा नै बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । यता चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले आइतबारै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै वार्ता टोली गठन नगर आन्दोलन नै गर्ने चेतावनी दिएको थियो । बुधबार दिउँसोसम्म वार्ताटोली नबनेपछि संघले बुधबार देशव्यापीरुपमा स्वास्थ्य संस्था ठप्प पार्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

यता आवासीय चिकित्सकहरु बीपी कोइराला, न्याम्स र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले सामूहिकरुपमा डा. केसीको जीवन बचाउ अभियानमा विरोधका कार्यक्रम सार्वजनिक गर्दै शान्तिपूर्णरुपमा धर्ना र विरोध गर्दै आएका छन् ।