कोरोनाका कारण मिर्गौला प्रत्यारोपणमा अवरोध कहिलेसम्म ?

0
Shares

भगवती तिमल्सिना, काठमाडौं
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले देशव्यापीरुपमा स्वास्थ्य सेवाको अवस्थाका बारेमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मिर्गौला प्रत्यारोपणको सफलताले विदेश जाने ठूलो धनराशि बचत भएको र देशलाई आर्थिक लाभ पुगेको निष्कर्ष निकालेको छ ।
आर्थिक वर्ष २०७५÷२०७६ को प्रतिवेदनमा नेपालबाट ठूलो धनराशि छिमेकी भारतमा जाने गरेकोमा नेपालमै मिर्गौला प्रत्यारोपण भएपछि सर्वसाधारण जनतालाई निकै ठूलो सहयोग पुगेको पनि जनाइएको छ ।
जनस्वास्थ्यका विषयमा राज्यले ठोस नीति अवलम्बन गरी दक्ष जनशक्तिको कदर गर्ने हो भने नेपालमा स्वास्थ्य जनशक्ति निकै अनुभवी, जिम्मेवार र मेहनती रहेको पनि वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कति मिर्गौलाका बिरामीले दाता, पैसा नभएर अकालमा ज्यान गुमाएको अवस्थामा नेपाल सरकारले सन् २००४ मा वीर अस्पतालबाट मिर्गौला प्रत्यारोपण शुरु गर्ने जमर्को गरेको थियो । तर त्यतिबेला अहिले जस्तो दक्ष जनशक्ति, उपकरण, कानुनी सहजता नभएकै कारण सोचेजस्तो परिणाम आउन सकेन । तर नेपाल सरकार र स्वास्थ्य संस्थाहरुको अथक प्रयासमा नेपाली चिकित्सकहरु नै मिर्गौला प्रत्यारोपणका क्षेत्रमा दक्ष सावित भए ।
सन् २००८ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणले सफलता पाएसँगै बेलायतको सुविधालाई त्यागेर नेपाल आएका युवा चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले नेपालको वीर अस्पतालमा मिर्गौला प्रत्यारोण गर्न थालेपछि यस क्षेत्रमा ठूलो सफलता आएको सम्बद्ध विज्ञहरु बताउँछन् ।
श्रेष्ठको समूहले वीर अस्पतालमा ९९ जनालाई मिर्गौला प्रत्यारोपण गरेसँगै नेपाल सरकारले भक्तपुरमा तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र हालको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका लागि छुट्टै अस्पताल खोल्ने निधो गरी डा. श्रेष्ठलाई कार्यकारी निर्देशकको जिम्मेवारी दियो । सानो क्षेत्रमा बनेको प्रत्यारोपण केन्द्र विस्तार गर्ने योजनासहित कलेजो प्रत्यारोपणका लागि समेत सरकारसमक्ष प्रस्ताव अघि सार्दै डा. श्रेष्ठको नेतृत्वमा अस्पतालले पूर्णता पायो ।
सन् २०१२ मा खुलेको उक्त अस्पतालले सोही वर्षको नोभेम्बरबाट डा. श्रेष्ठको नेतृत्वमा सेवा सुचारु गरेको रिपोर्टमा उल्लेख गरिएको छ । तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र हालको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुरले आर्थिक वर्ष २०७५÷२०७६ मा १ सय ८३ जनाको मिर्गौला प्रत्यारोपणमा सफलता पाएको उल्लेख गरिएको छ ।
वीर असपतालमा १४ जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५५ जनाको मिर्गौला प्रत्यारोपण सफल भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । तीन सरकारी अस्पतालमा २ सय ५२ जनाले नयाँजीवन पाएको देखिन्छ ।
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको गतिलाई सरकारले निरन्तरता दिनेतर्फ थप कार्यक्रम, योजना, दक्ष जनशक्तिको कदर गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
नेपालमा मिर्गौला प्रत्यारोपणको कुल ७२ दशमलव ६ प्रतिशत धर्मभक्तमा मात्र भएको देखिन्छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २१ दशमलव ८ प्रतिशत र वीर अस्पतालमा ५ दशमलव ५ प्रतिशत मिर्गौला प्रत्यारोपण भएको देखिन्छ ।
यति ठूलो संख्यामा मिर्गौलाका बिरामीलाई सहज र सरल बनाउने नेतृत्व लिँदै आउनुभएका डा. श्रेष्ठ यतिबेला वीर अस्पतालको दरबन्दीमा फर्काई जिम्मेवारविहीन बनाएको अवस्था छ । यतिबेला वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको छ । डा. श्रेष्ठको टिमको नेतृत्वले मिर्गौलाका बिरामीको लागि दिएको सेवा रोकिनु चिन्ताको विषय बनेको छ ।
डा. श्रेष्ठको नेतृत्वमा भक्तपुरमा ७ वर्षमा ६ सय ९६ जना मिर्गौलाका बिरामीले नयाँजीवन पाउँनु देश र राज्यकै लागि ठूलो उपलब्धि हो, प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भारतमा कोभिड १९ को महामारीका बाबजुद पनि अति आवश्यक बिरामीमा मिर्गौला प्रत्यारोपण शुरु भइसकेको छ । तर नेपालमा मिर्गौला प्रत्यारोपणका क्षेत्रमा विशेष ख्याती कमाएका चिकित्सक र अस्पतालहरु शून्यमा बस्नुले बिरामीहरु बाध्य भएर पुनः भारत रोज्दै छन् ।