जिप दुर्घटनामा वडाध्यक्षसहित ६ को मृत्यु

0
Shares

वासुदेव शर्मा, जाजरकोट
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
सदरमुकाम खलंगाबाट बुधबार जुनीचाँदे गाउँपालिका जाँदै गरेको भे१ज ९३५ नम्बरको यात्रुपवाहक जिप औलभीरमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जाजरकोट खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्र परालेतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाहीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोही वडाका ६० वर्षीय कृतिबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ का ३२ वर्षीय स्वास्थ्यकर्मी खिमबहादुर शाही, वडा नम्बर ५ गर्खाकोटका ३० वर्षीय कृष्णबहादुर शाही, सोही वडाकी ३० वर्षीय मालिका बस्नेत र जुनीचाँदे–११ का लालबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताउनुभयो ।
अन्य २ जना मटेला खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ । वडा नम्बर ११ का नरबहादुर बुढा दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । दुर्घटना जुनीचाँदे–१ औलखोला लोड्नी भीरबाट करिब दुई सय मिटर तल मजकोट खोलामा परेको स्थानीय गोपाल गिरीले जानकारी दिनुभयो ।
दुर्घटनास्थल जाजरकोट सदरमुकामदेखि करिब २० कोष पश्चिममा पर्दछ । गाडी खोलामै रहेको छ भने गाडी चालक गोरख बस्नेत फरार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।
नेकपाको पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी फर्कने क्रममा नेता तथा कार्यकर्ता चढेको जिप दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।