आर्थिक मन्दी


कोरोना महामारीले दोस्रो विश्व युद्धपछिको सबभन्दा ठूलो मानवीय र आर्थिक संकट थोपर्दै छ । कोरोनाको प्रभावले गर्दा अहिले एक कसिसमको विश्वव्यापी मन्दी शुरु भएको छ । अन्तर्राष्ट्रिय विज्ञहरुले भविष्यसम्मको यसको अवश्यम्भावी प्रभावले त यसलाई सन् १९३० को भन्दा पनि भयानक ‘ग्रेटर डिप्रेसन’को नाम दिएका छन् । मानव जीवन सुरक्षासंँगै आर्थिक सुरक्षा आजको प्रमुख मुद्दा र चुनौती बनेको छ ।
सामान्य अवस्थामा कुनै पनि देशको अर्थतन्त्रमा वृद्धि भैरहेको नै हुन्छ । एक देशले उत्पादन गर्ने वस्तु तथा सेवाहरूको मूल्य अर्थात कुल गार्हस्थ उत्पादन बढेको अवस्थामा औशतमा त्यहाँका नागरिकहरू पनि अलिकति धनी बन्न पुग्छन् । तर कुनै बेला त्यस्ता वस्तु तथा सेवाको मूल्य खस्कन पुग्छ । त्यसरी कुनै देशको कुल गार्हस्थ उत्पादन अर्थात त्यसले उत्पादन गर्ने वस्तु वा सेवाको मूल्य लगातार दुईवटा त्रैमासिक अवधिमा खस्कन पुग्यो भने त्यस्तो अवस्थालाई आर्थिक मन्दी भन्ने गरिन्छ । अहिलेको मन्दीको मुख्य कारण उपभोग र उत्पादन कम हुनु हो । जस्तैः विभिन्न सेवाहरु ठप्प हुनु, स्कुल बन्द हुनु, शिक्षा सेवा उत्पादन नहुनु र विद्यार्थीले स्कुलमा नपढ्नु सेवा उपभोग नहुनु हो । नपढाएको शुल्क लिन मिलेन, जसले स्कुल र शिक्षकको आय घट्ने भयो । धेरै मानिसका लागि आर्थिक वृद्धि हुनु राम्रो कुरा हो, जसको अर्थ सामान्यतया रोजगारीहरू बढी मात्रामा उपलब्ध हुन्छन् । कम्पनीहरू सामान्यतया बढी नाफामा हुन्छन् र तिनीहरूले आफ्ना कर्मचारी तथा शेयरधनीलाई राम्रो तलब वा आर्थिक प्रतिफल दिन सक्छन् । फस्टाउँदो अर्थतन्त्र हुँदा सरकारले पनि करका रूपमा बढी राजस्व प्राप्त गर्नसक्छ । त्यसो भयो भने सरकारले कर कटौती गर्नसक्ने अवस्था पनि देखिनसक्छ, वा उसले जनतालाई उपलब्ध गराउने सेवा, सार्वजनिक सुविधाका सेवाहरू र सरकारी कर्मचारीको तलबमा पनि बढी खर्च गर्नसक्छ । तर यदि अर्थतन्त्र खुम्चियो भने यी सबै कुरा विपरीत दिशामा घुम्न पुग्छन् । अहिले सबै अवस्था विपरीत दिशा घुमेको अवस्था हो । अहिले धेरै मानिसहरूले आफ्नो जागिर गुमाएका छन् । नयाँ अवसर पाउन निकै कठिन हुँदैगएको छ । जागिरमा रहेकाहरूको पनि तलब वृद्धि नहुने, सामान्यभन्दा बढी समय काम गर्नुपर्ने वा तलब कटौतीलाई स्वीकार्नुपर्ने अवस्था छ । तर, आर्थिक मन्दीको प्रभाव समाजका सबैलाई बराबरी नपरेर सामाजिक असन्तुलन बढ्ेको अवस्था छ ।
कोभिड– १९ को कारण आएको विश्वव्यापी आर्थिक मन्दीले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माणतर्फ अघि बढ्नको निम्ति उपयुक्त अवसर प्रदान गरेको छ । यसको लागि सबभन्दा बढी आयात प्रतिस्थापन गर्ने खालका उत्पादनहरुमा र मन्दीको अवस्थामा पनि अन्तर्राष्ट्रिय माग भैरहने आधारभूत आवश्यकताका वस्तुहरुको उत्पादन र निर्यातको सम्भावनाको खोजी गर्नुपर्दछ । यस कार्यले मुलुकको सामु विश्व आर्थिक मन्दी, लकडाउन वा जे आइपरे पनि त्यसको असर दैनिक जीवनमा कम पर्ने अवस्था सृजना हुनेछ ।