फोहोरमैलाको व्यवस्थापन गर्न समिति गठन


नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौंको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ । असोज १९ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५१औं कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यदलको सदस्यमा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल, वडा ४ का अध्यक्ष मोहन विष्ट र शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत हुनुहुन्छ । कार्यदलको सदस्य सचिवमा वातावरण व्यवस्थापन विभागका प्रमुखले काम गर्नुहुनेछ ।
‘लगानी बोर्डबाट थालनी भएर महानगरमा फाइल आएको यो परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ? सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सर्तमा सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पु¥याउन जिम्मेवारी तोकेर निरन्तर काम गर्नुपर्ने भएकोले उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।’ –बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले जानकारी गराउनुभयो ।
काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१औं बैठकले विकासकर्तासँगको परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो ।
यसअघि २०७४ फागुन २४ गते निजीक्षेत्रलाई काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा दिने लगानी बोर्डका तत्कालीन प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र निजीक्षेत्रका तर्फबाट नेपवेष्टकी अध्यक्ष संगीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेसन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही विषयमा दुई पक्षका बीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ । यो चरणमा लगानी बोर्डबाट फाइल महानगरमा आएको हो ।
कार्यपालिका बैठकमा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले परियोजना शुरु भएदेखि अहिलेसम्म भएका प्रयास, यसका सम्भावना र चुनौतीका विषयमा प्रस्तुति गर्नुभएको थियो । ‘आजै निर्णय गरेर खुरुखुरु काम गर्ने हो, सम्झौताको चरणमा पुग्न ९ महिना लाग्छ।’ –उपाध्यक्ष बस्नेतको भनाइ थियो ।
बैठकले सामाजिक विकास विभागले प्रस्ताव गरेको लक्षित वर्ग व्यवस्थापन निर्देशिका तयार पार्न सैद्धान्तिक सहमति दिएको छ । यसैगरी कृषि विभागले प्रस्ताव गरेको प्राङ्गारिक कृषि उपज प्रवद्र्धन कार्यक्रमको कार्यान्वयन कार्यविधि, बजार निरीक्षण तथा अनुगमन कार्यविधि, विषादि अवशेष विश्लेषण कार्यक्रम सञ्चालन निर्देशिकाका लागि सहमति दिएको छ ।
यसैगरी वित्त विभागले प्रस्ताव गरेको काठमाडौं महानगरपालिका आर्थिक प्रशासन नियमावली र राजस्व विभागले प्रस्ताव गरेको विद्युतीय माध्यमबाट राजस्व निर्धारण तथा संकलन प्रणालीमा विवरण भर्ने मार्गदर्शनका लागि सहमति दिएको छ । शहरी योजना आयोगले तयार पारेको सिल्भर भोलेन्टियर कार्यविधि र महिला उद्यमशाला कार्यविधिका बारे बैठकमा जानकारी गराइएको थियो ।
बैठकले नेपाल भाषाको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैगरी फुटकर जिन्सी सामग्रीको दररेट स्वीकृत गरेको छ ।
पशुपति क्षेत्रमा ३ वटा शवदाह उपकरणसहित एउटा गृह निर्माण गर्ने निर्णय भएको छ । पशुपति क्षेत्र विकास कोषले शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने बैठकले निर्णय गरेको हो ।
बैठकमा कोभिड महामारी, रोकथाम र नियन्त्रणका लागि वडाबाट भएका प्रयास र अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा संकलन प्रणालीका सम्भावना र समस्याका बारेमा छलफल गरिएको थियो ।
महानगरले कोभिड १९ को परामर्श र विशेषज्ञ सेवाका लागि संघ सरकारबाट चिकित्सक ल्याउन लागिएको छ । बैठकमा कोभिडका बारेमा उठेका प्रश्नको उत्तरमा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी गराउनुभएको थियो । ‘अनलाइन राजस्व प्रणाली सञ्चालन शुरुआतको चरण भएकोले केही समस्या देखिएका छन् । थनशक्ति र स्रोत थपेरै भए पनि यसलाई सफल बनाउनु पर्छ । व्यक्तिको भौतिक उपस्थितिविना काम हुने प्रणाली स्थापना गर्ने यो राम्रो अवसर पनि हो ।’ –उहाँको भनाइ थियो ।
बैठकमा महानगरका प्रवक्ता एव वडा १५ का अध्यक्ष ईश्वरमा डंगोल, वडा ३० का अध्यक्ष दलबहादुर कार्की, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा १२ का अध्यक्ष विकास डंगोल, ७ का अध्यक्ष शुद्धकुमार डंगोल र ५ का अध्यक्ष रमेश डंगोलले धारणा राख्नुभएको थियो । उहाँहरुको धारणा कोभिडको प्रभावकारी नियन्त्रण, अनलाइन प्रणालीको कार्यान्वयन, शैक्षिक कार्यक्रम र जनशक्ति व्यवस्थापनका विषयमा केन्द्रित थियो ।