ध्वस्त हुँदै समाज र सामाजिक भावना


पेशल आचार्य
प्रजातन्त्र या गणतन्त्र जे नाम दिनुहोस्, संसारको विकल्परहित व्यवस्था भनेर कहिल्यै नथाक्ने हामी कहिलेकाहीँ हाम्रो समाजमा घट्ने प्रतिनिधि घटनाहरूबाट भने दिक्क हुन्छांै र अनायास भन्छौं– ‘यो सब बहुदलकै कारणले भएको हो ।’ संसारमा त्यस्तो चीज केही छैन, जुन सर्वदा उपस्थिति भइरहोस् । अजर, अमर र अविनाशी आत्मा हो भनेर पूर्वीय धर्मशास्त्रले भने पनि त्योसमेत शरीरको मृत्युपश्चात् कहाँ जान्छ, के गर्छ, कसरी अस्तित्व ग्रहण गरेर यो चराचर ब्रह्माण्डमा घुमिरहन्छ, एकिन छैन । जे धर्मशास्त्रले बोल्छ त्यो अनुमान हो ।
विगत् तीन दशकयताको नेपाली समाजको समग्र चरित्रलाई केलाउने हो भने, यहाँ न कुनै आदर्श व्यक्तिको छविचित्र स्थापित हुन सक्यो, न कुनै आदर्श नीतिनियम र मार्गको सुविख्यात व्याख्या नै । हामी २०४६ सालताका आन्दोलनका कमान्डर गणेशमान सिंह श्रेष्ठलाई सो आन्दोलन सफल बनाउने भूमिका निर्वाह गर्नुभएको सन्दर्भमा त्यागी, महान् र संघर्षशील उपनामले सम्बोधन गर्दछौं । यसमा कुनै कन्जुस्याइँ गर्नुपर्ने कारण छैन तर तिनै गणेशमान सिंहले राजाबाट प्रधानमन्त्रीको अफर आउँदा कृष्णप्रसाद भट्टराईलाई देखाएर आफू अनिच्छुक भएको जानकारी दिए । पछि उनी पत्नी मंगलादेवी सिंहलाई संसद् सदस्य बनाउन र भतिज दुर्गेशमान सिंहलाई राजदूत बनाउने मामलामा नराम्रोसँग चुके । उनी आफ्नै पार्टी कांग्रेसबाट अलग भई अन्ततोगत्वा निराश अवस्थामै बिते ।
यहाँ उठाउन खोजिएको कुरा के भने, जत्रासुकै मानिससमेत आफ्नो कुनै एक–दुई कामले मात्र संसारमा चिनिने रहेछन् । जिन्दगीभर तिनले सबै काम राम्रैराम्रा गर्दा रहेनछन् । किन मानिसमा मानवीय कमजोरी हुन्छ ? किन मानिसले सधैँ आफूलाई कमान्ड÷कन्ट्रोल गर्न सक्दैन ? किन ठूला÷असल र महान् मानिसहरू पनि जीवनमा स–साना कुरामा चुक्छन् ? यो अनुसन्धानको विषय हो । छोटो जीवन पाएर आफ्नो समयमा सर्वाधिक चर्चित राजनेता तथा वामपन्थी विचारक मदन भण्डारीको राजनीतिक र दार्शनिक विरासत न त उनकै पत्नीले लिन सकिन्, न उनका सन्तान नै त्यो करिश्मायुक्त ओज लिएर बाहिर आए । राजनीतिमा मात्र नभएर यो समाजका विविध क्षेत्रमा समेत भएको देखिँदैन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका सन्तानले देवकोटीय पथालम्बन गर्न सकेनन् । डा. पद्मप्रसाद देवकोटा अंग्रेजी साहित्यका प्राध्यापक त भए तर लेखकीय विशारद् उनमा भेटिएन । यसै गरी बालकृष्ण समका नाति जीवन शमशेरको केही वर्षअघि भएको निधनपछि उनका सन्तान गुमनाम छन् । यो मामला सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भूपी शेरचन, गोपालप्रसाद रिमाल र भवानी भिक्षुका सन्तानमा समेत अक्षरशः लागू हुन्छ । कवि शिरोमणि लेखनाथ पौड्यालकी छोरी पुण्यप्रभादेवी ढुङ्गाना, शारदाका सम्पादक ऋद्धिबहादुर मल्लका पुत्रद्वय गोविन्द गोठाले र विजय मल्ल, डा. ध्रुवचन्द गौतमका सुपुत्र डा. ईशान गौतम, कलाकार लैनसिंह वाङ्देलकी छोरी डा. डिना वाङ्देलहरूले भने पिताको मार्ग पछ्याई समाजलाई सकेको योगदान दिए ।
बाबुले गरेको काम छोराले गर्नै पर्छ भन्ने छैन । बाबुका बाटामा छोरो हिँड्न चाहँदैन । भनिन्छ, ‘बाबु, छोरो सधैँ मजस्तो होस् भन्छ तर छोरो म बाउजस्तो कहिल्यै नहूँ भन्छ रे !’ यही कन्ट्राडिक्सनबाटै विकास जन्मिन्छ, पन्पिन्छ र दौडिन्छ । विकासलाई द्वन्द्वले तीव्र गति दिन्छ । नेपालमा माओवादी जनयुद्ध, मधेस आन्दोलन र समय–समयमा भएका आन्दोलनले समाजमा चेतना प्रवाह गर्ने सवालमा करिब २० वटा विश्वविद्यालयले प्रवाह गर्ने चेतनाभन्दा बढी प्रवाह गरेको पाइयो भनेर समाजशास्त्रीहरू नै भन्दै छन् । सोबीच भएका युद्ध विभीषिका, जीवनको माया, हत्या, हिंसा, शोषण, सामन्ती सोच, पेसा परिवर्तन, अभाव, दुव्र्यवहार र बसाइँ सराइजस्ता घटनाको सूक्ष्म विश्लेषणले सो कुरा देखायो ।
खासगरी यहाँ देखाउन खोजिएको कुरो भने हाम्रो नेपाली समाज प्रजातन्त्र र गणतन्त्र प्राप्तिपछि पनि सो चरित्रलाई व्यक्तिगत वा सामूहिक सम्पत्ति बनाएर जीवनका कुनै न कुनै क्षेत्रहरूमा उदाउने एकसे एक आदर्श व्यक्तिहरूले देखाउन सक्दथे, त्यो देखिएन । ठूला भनिएका राजनीतिक पार्टीका अनटेस्टेड मध्यम हाँचका केही नेता र कार्यकर्ताभन्दा सत्ता र सुविधामा टेस्ट भएका प्रायः सबैजसो नेता, कार्यकर्ता र पिछलग्गुहरूले समाज, राजनीति, विचार, मर्यादा र नैतिकतालाई नै खुलेयाम च्यालेन्ज गरे । यो भनाइलाई पुष्टि गर्नका लागि हामी हाम्रो वर्तमान राजनीति र प्रशासनमा भएका विकृतिहरूलाई देखाएर व्याख्या गर्न सक्छौं । नवीन घिमिरे जो अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाश भए । ती नेपाल सरकारका अब्बल सचिव र धेरै जिल्लामा सीडीओ हुँदा उनले बनाएको प्रशासनिक छविलाई जीवनको उत्तरार्धमा आएर आफैँले ध्वस्त पारिदिए । ललिता निवासको जग्गा बिक्री प्रकरण मुद्दाको फायललाई उनले जाँदाजाँदै तामेलीमा हालिदिएर राजनीतिक पार्टीका नेताको जुत्ताको तलुवा मात्र चाट्ने काम गरेनन् कि समग्र संस्थाकै नुर गिराउने काम गरे । हो, उठाउन खोजिएको कुरा नै यही हो । मानिस किन लो प्रोफायलमा बसेर शक्ति, सत्ता र अधिकारको सदुपयोग गर्न सक्दैन÷जान्दैन ? कि न मन गर्दैन ? कि लत्तो छोड्छ ? यी र यस्ता घटनाहरूमा पनि हाम्रा विश्वविद्यालयहरूले सूक्ष्म अनुसन्धान र पढाउने काम गर्नुप¥यो । के यतातिर विश्वविद्यालयका नेतृत्व गर्ने प्रा.डा.हरूको ध्यान जान सकेको छ ?
समाजअनुसारको शिक्षा, प्रविधि, विधि, न्याय, प्रशासन, व्यापार र मनोरञ्जन हुन सकेन भने तत्–तत् क्षेत्रहरूमा भए–गरेका कार्यहरू सबै फ्लप हुन्छन् । जुन परिणामको अपेक्षा गरेर लगानी गरिएको हुन्छ त्यो फ्लप भयो भने त्यसलाई कार्यान्वयनमा लैजाने र सो नीति तथा कार्यक्रम पछ्याउनेहरूमा चरम वितृष्णा पैदा हुन्छ । यस्तै वितृष्णाहरूले नै समाजमा फेरि आन्दोलन र क्रान्तिलाई निम्ता दिने हुन् ।
हाम्रो देशले प्रधानमन्त्रीय पद्धतिको गणतन्त्रात्मक राज्य व्यवस्थालाई अंगिकार गरेको छ । यो व्यवस्थामा राम्रा, नराम्रा जे–जस्ता कार्यहरू गरे पनि सो कुराको जश–अपजश सबै प्रधानमन्त्रीलाई जान्छ । हामीले २०४७ सालदेखि अहिलेसम्मका प्रधानमन्त्रीहरूका कार्यशैलीलाई हेर्ने हो भने, तत्कालीन एमालेका मनमोहन अधिकारीको ९ महिने अल्पमतको शासन, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको २०४७ को अन्तरिम र पछिको २ बर्से शासनलाई असल शासनका रूपमा जनताले लिएका छन् र इतिहासमा समेत ती शासनहरूको दर्ज असल कित्तामा भएको छ । नत्र पचासको दशकदेखि सत्तरीको दशकसम्म भएका खिचमिच–खिचमिच शासन र अल्पअवधिका लागि शासनारूढ प्रधानमन्त्रीहरूले प्रभावै पर्ने गरी खास केही छाप छोड्न सकेनन् । हो, यहीँनेर प्रश्न उठाउन खोजिएको हो । किन सकेनन् ? चाहेनन् वा खोजेनन् ? या उनीहरूको सपना वा दृढतालाई भाँजो हाल्ने प्रयास गरियो । कि जुनसुकै विचारका प्रधानमन्त्रीहरूलाई पनि घेराबन्दीमा पारेर सानो÷प्रभावशाली ‘किचन क्याबिनेट’ले आफ्ना व्यक्तिगत वा कुत्सित फाइदाका लागि प्रधानमन्त्रीहरूलाई बलिको बोको भनौं या राजनीतिक भाषामा ‘मोहरा’ बनाउने काम गरियो, जसको चंगुलबाट ती सबै खाले प्रधानमन्त्रीहरू निस्कन सकेनन् ।
गरिब, चेतनाको कमी भएको र ठूला देशहरूको चेपुवामा परेर विकासका लागि टाउको उठाउँदै गर्ने हाम्रोजस्तो मुलुकका लागि त झन् छिमेकीहरू नै यो वा त्यो सवालमा घाँडा साबित हुने रैछन् । भूकम्पले थिल्थिलो बनाउँदाका अवस्थामा जारी भएको संविधानको छेको पारेर भारतले गरेको नाकाबन्दी र अहिले उत्तरी चीनले गरेको भनिएको सीमा अतिक्रमणलाई हेर्ने हो भन,े सो जतिसुकै उफ्रिपाफ्री गरेर कराए पनि संयुक्त राष्ट्र संघले पनि धनी, डोनर देश र बलियाकै कुरा घुमाइफिराईकन सुन्दो रहेछ । यस्ता दृष्टांश समय–समयमा वैश्विक राजनीतिमा पनि नदेखिने होइनन् । हालसालै टर्कीले भारत र पाकिस्तानको पचासौं वर्षअघिदेखिको विवादित मुद्दा बनेको कश्मिर मामलालाई संयुक्त राष्ट्र संघमा उठायो तर केही सुनुवाइ नै भएन । यही कोरोना कहरमा जुन बेला चीनले उसको वुहानमा यो रोगको संक्रमण फैलिरहेको थियो त्यो बेला यसको भ्याक्सिनका लागि अहिले चर्चामा आएका रुस, अमेरिका, फ्रान्स र जर्मनीलाई हारगुहार गरेको भए यत्तिको विश्वभरि मान्छे नमर्ने रहेछन् । हाहाकार नहुने रहेछ । विश्व स्वास्थ्य संगठनले निर्विवाद र निष्पक्ष ढंगले दह्रो खुट्टा टेकिदिएको थियो भने अहिले जुन शैलीमा कोरोनालाई आतङ्क बनाएर स्वास्थ्यसम्बन्धी सामग्रीहरूको बजार÷कालोबजार र गन्धा बजार फैलिएको छ, त्यो नहुने रहेछ । यसलाई पनि हामीले विश्वका शक्तिशाली देशहरूमा निरन्तर भैरहेको नेतृत्वको क्षयीकरण वा स्खलन भनेर विश्लेषण गर्न सक्छौं ।
नेपालका सन्दर्भमा त नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले संसद्मा, बाहिर र बेला–बेला माइतीघर मण्डलामा हुने आन्दोलनमा पनि ‘कोरोनासँग जुध्नका लागि यो सरकारसँग नीति, कार्यक्रम, स्वास्थ्य उपचारको फोर्स र उच्च मनोबल नभएको’ भनेर हाकाहाकी नै भनेका थिए । तर दुःखको कुरा प्रतिपक्षको यस्तो कुरा सरकारले आफ्नो शक्तिशालीपनको फाइदा उठाएर सुनेन । किन सुनेन भने, संसद्मा प्रतिपक्ष निरीह र निम्छरो छ । उसको बोलीलाई सत्ताको ह्याकुलाले थिच्न सकिन्छ । हामीले पाँच वर्षका लागि जनताको चुनावी म्यान्डेट पाएर आएका हौं, जे पनि गर्न सक्छौं भन्ने शैलीमा सहकार्य, सहमति र सहयोगको अपेक्षा नगरी जथाभावी खर्च र काम गरेकाले नै यस्तो अस्तव्यस्त स्थिति आएको हो । यसमा जनताले सूक्ष्म मूल्याङ्कन गरेर तत्–तत् मन्त्रीहरूलाई पुरस्कार÷सजाय के दिनुपर्ने हो, आफ्नो मनमा अड्कल गरिराखेका छन् ।
हालै केही दिनअघि हुम्लामा एउटी महिलामाथि प्रेमसम्बन्धमा गरिएको सामाजिक ज्यादती र ५ नम्बर प्रदेशको राजधानी तोक्ने सवालमा बुटवलमा भएको प्रदर्शनीमा एउटी कामकाजी महिलाको स्कुटरमा भएको आगजनी घटनालाई विश्लेषण गर्ने हो भने हाम्रो समाज र हामी कता जाँदै छौं भन्ने देखिन्छ । समाज आफैँ अराजक हुँदै जान्छ कि सामाजिक सदस्यहरूलाई अराजक बनाउन उक्साउने तत्व समाजमै दृश्य÷अदृश्यरूपमा रहेका हुन्छन् । यो कुराको उत्तर भने झ्वाट्ट दिइहाल्न सकिँदैन । लामो र मिहीन विश्लेषणकै खाँचो पर्दछ ।