प्रदेश राजधानी सारिनु धोकापूर्ण


पाल्पा, (नेस)
कुनै बेला तराई पहाड छुट्याएर प्रदेशको सीमा विभाजन गर्न लागिएको होस् अथवा अस्थायी राजधानी बुटवल नै हुनुपर्दछ भनेर आन्दोलन गरेका पाल्पाली जनताले पाँच नं प्रदेशको राजधानी देउखुरी उपत्यका क्षेत्रमा तोकिएकोमा त्यसलाई धोकाका रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी उपत्यका क्षेत्रमा राख्ने प्रस्ताव बहुमतले पारित गरेपछि यस्तो प्रतिक्रिया आएको हो ।
यसअघि छिमेकी जिल्ला रूपन्देहीको बुटवलमा अस्थायी राजधानी तोकिएकोमा एकाएक प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी अयन्त्र लैजान खोजेको भन्दै पाल्पामा विरोधसँगै समय प्रतिकूल रहेको अवस्थामा गरिएकोे धोकापूर्ण कार्यसमेत भएकाले यसको निन्दा गर्नुपर्ने प्रतिक्रिया आएको छ । पाल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मोहन श्रेष्ठले नेपाल समाचारपत्रसँगको कुराकानीमा समय प्रतिकूल भएको बेलामा प्रदेश सरकारले गरेको यो कार्य औचित्यपूर्ण नभएको र पाल्पाली उद्योग व्यापारीको मर्म र भावनाविपरीतको भएको प्रतिक्रिया दिनुभयो ।
यसै गरी पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि राज्यको अर्बाैंको लगानीमा भौतिक पूर्वाधारहरू बनेकोमा त्यो लगानी बालुवामा पानीसरह भएको र अब नयाँ ठाउँमा पूर्वाधार बनाउँदा फेरि त्यत्तिकै रकम खर्चिनुपर्ने भएको बताउनुभयोे ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव झपेन्द्र गैरेले नेकपाका केही नेताहरूले मन्त्री खाने नाममा प्रदेश राजधानी सार्ने चलखेल गरेको बताउँदै हिजो नेकपाका नेताहरूले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावनाविपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याउनु गलत भएको उल्लेख गर्नुभयो ।
संघीयताको समेत विरोध गरिरहेको राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामीले राजधानी सार्ने विषयभन्दा पनि संघीयताकै विषयमा सोच्नुपर्ने बताउँदै प्रदेशको राजधानीको विषयलाई लिएर आन्दोलन भइरहेको सन्र्दभमा प्रदेश नै खारेजीतर्फ लैजानुपर्ने बताउनुभयो ।
नागरिक समाजका अध्यक्ष भेषराज सुवेदीले भने प्रदेशको नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिनुभएको छ ।
यसैबीच प्रदेश सरकारले देउखुरीलाई स्थायी राजधानी बनाउने बनाउने प्रस्ताव प्रदेश सभामा लगेपछि नेपाली कांग्रेस पाल्पाले सोमबार जिल्ला सदरमुकाम तानसेनमा विरोध प्रदर्शन गरेको थियो भने पूर्वी पाल्पाको रामपुर बजार नै मंगलबार बन्द गरिएको थियो । बन्दका कारण पूर्वी पाल्पाको व्यापारिक केन्द्र मानिने रामपुरका पसल व्यवसाय बन्द रहेको र सरकारी कार्यालयमा समेत काम प्रभावित भएको थियो ।