प्रदेश ५ को राजधानी देउखुरी उपत्यका र नाम लुम्बिनी


यमलाल भुसाल, बुटवल
प्रदेश ५ कोे मंगलबार बसेको बैठकले स्थायी राजधानी र प्रदेशको नामकरण स्पष्ट दुई तिहाइ बहुमतबाट पारित गरेको छ । प्रदेशको राजधानीका विषयमा निकै विवाद र आन्दोलन भए पनि अन्ततः स्पष्ट दुई तिहाइ बहुमतबाट राजधानीको केन्द्र तय भएको हो ।
राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका क्षेत्रको पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो । यससँगै प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका क्षेत्र कायम भएको छ । प्रदेश सभामा मंगलबार भएको राजधानीको प्रस्तावको मतदानमा ८२ जना सांसदले सहभागिता जनाउनुभएको थियो ।
त्यस्तै गरी प्रदेशको नामाकरण लुम्बिनी राख्ने पक्षमा ७९ जनाले र ४ जनाले विपक्षमा मतदान गरेका छन् । प्रदेश सभामा कुल ८७ जना सभासद रहेकोमा सुरेन्द्रबहादुर हमाल उपस्थित हुनुभएन भने जसपाका कल्पना पाण्डे र सन्तोष पाण्डेले नामकरण र राजधानी कुनैमा पनि मतदानमा सहभागिता जनाउनुभएको छैन । त्यस्तै राष्ट्रिय जनमोर्चाकी तारा जिसीले राजधानीमा मतदान गर्नुभएन भने नामकरणको पक्षमा मतदान गर्नुभएको थियो ।
त्यस्तै सभामुखले मतदान गर्न आवश्यक नपरेको प्रदेश सभा स्रोतले जनाएको छ । नामकरण र राजधानीको सवालमा सहमतिबाट समाधान गर्न नसकेपछि मतदान प्रक्रियाबाट टुंगोमा पु¥याइएको हो । नेपाली कांग्रेस रूपन्देहीले सडकदेखि सदनसम्म र रूपन्देहीमा क्रियाशील ३५ वटा व्यावसायिक संघसंस्थाले सडकदेखि विरोध गर्दा गर्दै पनि प्रदेश सभाले प्रदेशको राजधानी र नामकरण स्पष्ट दुई तिहाइ बहुमतबाट पारित गरेको छ ।
प्रदेश सभामा संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरणको प्रस्ताव यही असोज १६ गते शुक्रबार सभामा पेस गर्नुभएको थियो ।
यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संसद्ले गठन गरेको विशेष समितिले १ नम्बरमा सिफासिस गरेको स्थानलाई प्रदेशको राजधानीका रूपमा प्रस्ताव गरेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले विशेष समितिले १ नम्बरमा दाङ २ नम्बरमा रूपन्देही र ३ नम्बरमा कपिलवस्तुलाई राजधानी बनाउन सकिने गरी सिफारिस गरेको बताउनुभएको थियोे ।
प्रदेशसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी १२ जिल्लाको जनताको समृद्धिको चाहनालाई ध्यानमा राखेर ल्याएको बताउनुभयो । प्रदेश ५ लाई प्रदेश समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने जिकिर गर्दै उहाँले कहाँ राजधानी बनाउने होइन, कस्तो राजधानी बनाउने भन्ने कुरालाई जोडेर राजधानीको प्रस्ताव गरेको जिकिर गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले प्रस्ताव गरिएको स्थानमा बग्ने राप्ती नदी प्रदेशको एकल अधिकारका रूपमा रहेको र त्यसले नै बाँके र बर्दियालाई समेत जोड्ने बताउनुभयो । उहाँले भालुवाङले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने दाबी गर्नुभयो । उहाँले अखण्ड लुम्बिनीबारे बुटवलमा भएको आन्दोलनले मधेस र पहाड छुट्याएर प्रदेश बनाउनुपर्ने मागलाई निस्तेज बनाएको जिकिर गर्नुभयो ।
बुटवल भैरहवा औद्योगिक करिडोरको डीपीआर तयार भइसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउने तयारी भएको जानकारी दिनुभयो ।
सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको उहाँको भनाइ थियो । प्रदेशमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना बुटवलमा बनाउने, उजिरसिंह रङ्गशाला र बुटवल भैरहवा करिडोरलाई आर्थिक राजधानीका रूपमा विकास गर्न सकिने प्रदेश सरकारले मान्यता राखेको उहाँले बताउनुभयो ।
उहाँले मंगलबारकै मन्त्रिपरिषद्को बैठकले बुटवल क्षेत्रलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने निर्णय गरेको समेत जानकारी गराउनुभयो । राजधानी प्रस्तावमा कुनै राजनीति नगरिएको स्पष्ट पार्दै मुख्मन्त्री पोखेलले प्रस्तावित राजधानीका दुई स्थानीय पालिकामा नेपाली कांग्रेसको नेतृत्व रहेको र १ स्थानीय तहमा नेकपाको नेतृत्व रहेकोले पनि राजनीतिक आस्थाका आधारमा राजधानीको केन्द्र तोकिएको भन्न नमिल्ने प्रस्ट पार्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशका सबै जिल्ला, क्षेत्र र इलाकामा विकास गर्ने प्रतिबद्धता जनाएको दाबी गर्नुभयो ।