डा. केसीको स्वास्थ्य अवस्था नाजुक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल २२ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ ।
पटकपटकको अनशनले मधुमेह, मुटुको समस्याको सिकार बनिसक्नुभएको डा. केसीको यतिबेला स्वास्थ्य नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताउँदै आएका छन् । उहाँको माग, स्वास्थ्य अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– ‘डा. केसीले १९औं अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुप¥यो । होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुप¥यो ।’
डा. केसीले २०६९ सालमा पहिलो अनशन शुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन् ।
वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उहाँ ६ पटक अनशन बसिसक्नुभएको छ । यसपटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दासमेत सरकारले क्रूर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन ।