सोमिकाले जन्माइन् पाँच शिशु

0
Shares

भगवती तिमल्सिना, काठमाडांै
सोमबार थापाथली परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षकी महिलाले पाँच शिशुको जन्म दिनुभएको छ ।
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत निकालिएको हो । शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिङ्देन सहभागी हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा. मुकेश कुमार हुनुहुन्थ्यो ।
तामाङको भिडियो एक्सरे गर्दा ४ वटा बच्चा देखिएको भए पनि सीएस गर्दा पाँचवटा बच्चा भएको पाइएको थियो । केही दिनदेखि भर्ना भई सीएसको तयारी अवस्थामा राखिएको तथा सोमबार बिहान सीएसका माध्यमबाट सुत्केरी गराइएको बाल विभागका प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना सुवेदीले बताउनुभयो ।
पाँचमध्ये एक शिशु पेटभित्रै मृत अवस्थामा रहेको पाइएको उहाँले जानकारी दिनुभयोे । जीवित ४ नवजात शिशुलाई बालरोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठको निगरानीमा एनआईसीयूमा राखिएको छ । चारै शिशुको अवस्था सामान्य रहेको छ ।
जीवितै जन्मिएका ४ शिशुमध्ये पहिलो शिशुको तौल १ दशमलव ८ किलोग्राम, दोस्रो ९ सय ग्राम, तेस्रो १ दशमलव ९ किलोग्राम र चौथो १ दशमलव ६ किलोग्राम रहेको छ । ३२ हप्तामा सुत्केरी हुनुभएकी सोमिकाको पोस्ट अप्रेटिभ कक्षमा अब्जरभेसनमा राखिएको भए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दोस्रो बच्चाको भने अन्य बच्चाको दाँजोमा तौल कमै भएको डा. सुवेदीले जानकारी गराउनुभयो ।