डा.केसीको जीवन रक्षाका लागि वार्ताटोली गठन गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम


न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमा संघको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराइ सकिएको तर सरकारले वार्ताटोली पनि गठन नगरि बेवास्ता गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ । उहाँ आमरण अनसन बस्नुभएको आज २२ दिन भैसक्यो ।

कोभिड–१९ जस्तो महामारीको विद्यमान अवस्थालाई ध्यानमा राख्दै संघको तर्फबाट हालसम्म गरिएका हरेक पहललाई नेपाल सरकारले नजरअन्दाज गरेकोप्रति यस संघ गम्भिर आपत्ति प्रकट गर्दछ । डा. के.सी.को स्वास्थ्य अवस्था गम्भिर मोडमा पुगेको परिस्थितिमा संघले विभिन्न बिशेषज्ञ समाज, पूर्व अध्यक्ष, पूर्व महासचिव, काठमाडौं उपत्यकामा रहेका अस्पतालका निर्देशकज्यूहरु एवं संघको परिषद् बैठक राखी बृहत छलफल गरेको व्यहोरा जानकारी गराइन्छ ।

संघले आयोजना गरेका विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्याण्डेट अनुरुप डा. के.सी.को जीवन रक्षाका निम्ती नेपाल सरकारले ७२ घण्टाभित्र वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

डा. गोविन्द के.सी.को जीबन रक्षाका निम्ती हुन सक्ने बिरोधका कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथाशिघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको व्यहोरा अवगत नै छ ।

७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका निम्ती कुनै पहल अगाडी नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ । साथै यस संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको व्यहोरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।