खाद्यवस्तुमा खेलवाड ?


नागरिकहरुले दैनिक रुपमा उपभोग गर्ने खाद्य वस्तु म्याद सकिएको पाइएपछि सर्वत्र चिन्ता थपिएको छ । उपभोक्ताहरुले कुनै पनि खाद्य वस्तु खरिद गर्दा त्यसको उपभोग्य मिति हेरेर मात्र खरिद गर्ने गरेका छन् । मिति सकिएको खाद्य बस्तु कानुनअनुसार नष्ट गर्नुपर्ने हुन्छ । तर केही व्यापारीले धेरै कमाउन गलत धन्दा अपनाउने गरेका कारण नागरिकहरुको स्वास्थ्यमाथि नै गम्भीर असर पर्नेगरेको छ । खाद्य वस्तुमा मिसावट हुने सामान्य नै मानिदै आएको छ । तरकारीमा विषादीको मात्रा बढी हुँदा पनि उपभोक्ताहरु खान बाध्य हुँदै आएका छन् ।
गलत काम गर्नेलाई कारवाही गर्न सरकारले विभिन्न निकाय बनाएको छ । खाद्य तथा गुण नियन्त्रक विभाग, वाणिज्य विभाग लगायतले खाद्य वस्तुको अनुगमन गर्दछन् । चाडवाडको बेला मात्र तात्ने सरकारी निकाय अन्य समयमा भने खासै बजार अनुगमनमा निस्किदैन । बजार अनुगमनको तरिका पनि अनौठो छ । हुल बाँधेर अझ भनौं पूर्व सूचना दिएरै बजार अनुगमन हुने गरेका घटनासमेत छन् । बजार अनुगमन गर्ने तौर तरिकामाथि नै नागरिले गम्भीर प्रश्न उठाएका छन् । बजार अनुगमनको क्रममा यस्ता निकायले म्याद नाघेको, कम तौलको सामग्री विक्री वितरण गर्ने, मिसावट गर्नेलाई पनि सामान्य धरौटी लिएर छुटकारा दिने गरेको छ । जसको कारण पुनः बालोबजारी गर्ने व्यापारीलाई प्रोत्साहन हुनेगरेको देखिन्छ । गलत काम गर्ने व्यापारीलाई कडा कारवाही गर्न नसक्दा उपभोक्ताहरु ठगिने मात्र होइन अखाद्य बस्तु खाएर रोग निम्त्यिाइरहेका छन् । राजधानीमा म्याद सकिएका सामान बजारमा पठाएको विषयमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई साता अघिबाट अनुसन्धान सुरु गरेर आवश्यक प्रमाण समेत जुटाएको थियो । महाशाखाले कालोबजारी अन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरेर संयुक्त अप्रेशन गरी मिति नाघेको सामग्रीसहित आठ जनालाई रंगेहात पक्राउ गरेको थियो ।
गलत काम गर्ने व्यक्तिलाई पक्राउ गरेसँगै प्रहरी र विभागको निकै प्रशसा भएको थियो । तर, त्यसको भोलिपल्टै विभिन्न खाले प्रभावमा परेर सरकारले उनीहरुलाई मुक्त गरिदिएको छ । झण्डै ९५ करोड रुपियाँ मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम नै फेला पारेपछि पनि अभियुक्तलाई विनाकारबाही छोड्ने काम भएको छ । यसले सरकार आम नागरिकको स्वाथ्यप्रति खास चिन्तित नरहेको प्रमाणित हुन्छ ।