मेलौलीमा पुनः सिल, पुर्चौडीमा सिल खुल्यो


नेपाल समाचारपत्र, बैतडी

बैतडीको मेलौली नगरपालिकामा अनिश्चितकालका लागि पुनः नगरक्षेत्र सिल गरिएको छ । नगरपालिकामा कार्यरत गाडी चालकमा कोरोना पुष्टि भएपछि यसअघि असोज १३ गतेदेखि सिल गरिएको नगरक्षेत्र असोज १७ गते राती १२ बजेसम्म नगरक्षेत्र सिल गरिएको थियो ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि सिल गरिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा संक्रमण पुष्टि भएका चालकको सम्पर्कमा रहेका सबैको रिपोर्ट नआएकोले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द हुने जनाएको छ । नगरपालिका तथा वडाकार्यालयबाट प्रदान हुने सेवा बन्द हुने जनाइएको छ ।

यसका साथै बजारहरु बन्द गरी आवतजावत बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि सम्पर्कमा रहेका अन्य कर्मचारीको स्वाब परीक्षण रिपोर्ट नआएकोले नगरक्षेत्र पुनः सिल गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबैको रिपोर्ट नआउँदासम्म पुनः सिल गर्ने निर्णय भएको हो ।’

यसैबीच कोराना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि सिल गरिएको पुर्चौडी नगरपालिका क्षेत्र खुल्ने भएको छ । असोज ११ गतेदेखि जारी गरिएको अनिश्चितकालीन सिल आज १९ गतेदेखि खुल्ने भएको हो ।

पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सोमबारदेखि सिल खोल्ने निर्णय गरेको हो । नगरक्षेत्रमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएकाले नगरक्षेत्रमा गरिएको सिल खोल्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यसअघि गरिएको बन्दका कारण नगरको जनजीवन प्रभावित बन्दै गएकोले सिल खोल्ने निर्णय भएको हो ।’

बन्द रहेका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यापार व्यसायाय स्वास्थ्यका मापदण्ड अपनाएर खुल्ने पुर्चौडी नगरपालिकाले जनाएको छ । मृतकको सम्पर्कमा रहेका ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि सिल हटाउने निर्णय भएको हो ।

यसैबीच बन्द रहेका विद्यालय सञ्चालनका लागि भने नगर शिक्षा समितिको अगामी बैठकले गर्ने जनाएको छ । लामो समयपछि असोज ७ गतेदेखि सञ्चालनमा आएका विद्यालय असोज ११ देखि बन्द गरिएका थिए ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाले पनि एक सूचना जारी गरेर आफ्ना सम्पूर्ण सेवा सुचारु हुने जनाएको छ ।

असोज १६ गते एक कर्मचारीमा कोरोना पुष्टि भएपछि बन्द रहेका सबै सेवाहरु सुचारु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहले जानकारी दिनुभयो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सम्पर्कमा रहेका स्थानीयका रिपोर्ट नेगेटिभ आएपछि सेवा पुनः सञ्चालन गरिने भएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।

बैतडीमा हालसम्म ४ सय १२ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा २२ जना सक्रिय संक्रमित छन् । एक जनाको मृत्यु भइसकेको छ ।