आश्रमका आमाहरु बने साक्षर


मिला दरै, तनहुँ

महिलाहरुद्वारा सञ्चालित व्यास–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका आमाहरु साक्षर बन्नुभएको छ ।

इनर ह्वील क्लब अफ दमौली र रोट¥याक्ट वेदव्यासको संयुक्त आयोजनामा ‘सिकाइको उमेर हँुदैन’ नारासहित सञ्चालित १२ दिने प्रौढ शिक्षाबाट आश्रमका आमाहरु साक्षर हुनुभएको हो ।

आश्रममा आश्रित ज्येष्ठ नागरिकले वृद्ध भत्ता तथा बैंकिङ कारोबारका लागि अत्यावश्यक हस्ताक्षर सिक्ने इच्छा जाहेर गरेपछि सिकाइलाई प्रामिकता दिँदै प्रथम चरणको प्रौढ शिक्षाको कक्षा सञ्चालन गरिएको इनर ह्वील क्लब अफ दमौलीले जनाएको छ ।

१२ प्रौढ शिक्षाले उहाँहरुलाई साक्षर बनाएको क्लबकी पूर्व अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो । ‘हस्ताक्षर आवश्यक पर्ने महत्वपूर्ण कार्यका लागि साक्षर बनाउने उद्देश्यले प्रौढ शिक्षा दिन थालेका हौं, यसलाई निरन्तरता दिनेछौं।’ –मल्लले भन्नुभयो ।

आश्रममा आश्रित ६५ वर्षीया विमला भट्टराई, ७० वर्षीया मिठु केसी, भगवती खनाललगायतका आमाहरुले प्रथम चरणको सिकाइबाट नाम लेख्न सक्ने हुनुभएको छ । विमला भट्टराई भन्नुहुन्छ– ‘खुसी लागेको छ बूढो भएर नाम लेख्न जानेका छौं, अब सजिलो पनि हुन्छ ।’

त्यस्तै ७० वर्षीया मिठु केसी भन्नुहुन्छ– ‘हामीले बेलामा पढ्न पाएनौं र त यस्तो अवस्था आयो भन्दै हस्ताक्षर गर्न नसक्दा रुन मन लाग्थ्यो, अहिले जानेका छौं, अब वृद्ध भत्ता लिन जाँदा सजिलो हुने भएको छ, अनि मोबाइल चलाउन पनि जानेका छौं अहिले ।’ आश्रम आसपासका केही अन्य ज्येष्ठ नागरिकसहित गरी प्रौढ शिक्षामा १० जना सहभागी भएको आश्रमले जनाएको छ ।

आश्रमकी उपाध्यक्ष शकुन्तला आलेले इनर ह्वील क्लब अफ दमौली र रोट¥याक्ट वेदव्यासको सहयोगले यहाँका आमाहरुलाई साक्षर बनाउन पाउँदा अति नै खुसी लागेको बताउनुभयो ।