कक्षा १२ को परीक्षा : ‘लिखित परीक्षाको विकल्प छैन’


ईश्वरराज ढकाल, काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँले विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखित लिनुको विकल्प नभएको स्पष्ट पार्नुभएको छ ।

परीक्षासम्बन्धी गृहकार्य गरिरहेका तथा केही दिनमा निर्णय हुने जानकारी दिँदै उहाँले दुर्गममा होम सेन्टर, सुगममा नजिकको परीक्षा केन्द्रमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले जिल्लाबाहिर रहेका विद्यार्थीको तथ्यांक संकलन गरिरहेको र सो तथ्यांक प्राप्त भएपछि कसरी लिखित परीक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुने मन्त्रीले बताउनुभयो ।

मन्त्रालयको पछिल्लो तयारीको अवस्था विश्लेषण गर्दा मंसिरयता परीक्षा हुने छाँट देखिएको छैन । मन्त्री पोखरेलले भने अन्तिम तयारी भइरहेको दाबी गर्नुभयो । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारीसाधनको सुविधा भएको घर पायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्थापन गर्न बोर्डलाई निर्देशन दिने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले लिखितरुपमा परीक्षा लिने प्रस्तावको बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र परीक्षा गर्ने तयारी भइरहेको छ ।’

मन्त्रालयले सबै विधि र प्रक्रिया तयार गरी गएको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरेको थियो । गएको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ को परीक्षाको विषयलाई प्राथमिकतामा नराखी राजदूत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेको थियो ।

कक्षा १२ को विषयमा कहिले निर्णय हुन्छ भन्न सक्ने अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका ५ सहित झन्डै ७५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै काम बन्द गर्नुभएको छ ।

यस्तो अवस्थामा परीक्षाको विषयका निर्णय हुन सक्ने अवस्था देखिँदैन । मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा कक्षा १२ को परीक्षाको विषयमा निर्णय हुने अपेक्षा गरिएको छ । मन्त्री पोखरेलले मन्त्रिपरिषद्मा सबै विज्ञ र सरोकारवालासँगको निर्णयको आधारमा कक्षा १२ को परीक्षा लिखितरुपमा लिनुपर्ने निष्कर्ष निकाल्दै सोही प्रस्ताव पेस गर्नुभएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै बोर्डले परीक्षा लिने प्रक्रिया थाल्नेछ ।

बोर्डले भदौमा पेस गरेको परीक्षासम्बन्धी प्रतिवेदनमाथि मन्त्रालयमा पटकपटक छलफल भएको थियो । बोर्डले तयार गरको प्रतिवेदनमा विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखितरुपमै परीक्षा लिनुपर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मन्त्रालयले निर्णय गर्नासाथ सूचना जारी गरी परीक्षा लिने तयारी थालिने बताउनुभयो । बोर्डले सबै प्रदेश कार्यालयमार्फत विद्यार्थीको अवस्थाबारे तयारी गरिरहेको छ । बोर्डले विद्यालयको सम्पर्कमा नआएका विद्यार्थीको यकिन संख्या तयारी गर्ने क्रम शुरू गरेको छ । मन्त्रालयले सोही तथ्यांकको आधारमा लिखित परीक्षाको विधि तयार गर्नेछ ।

मन्त्रालयले दुर्गम र पहाडी जिल्लामा होम सेन्टर वा शहरबाट गाउँ गएका विद्यार्थीको हकमा नजिकैको विद्यालयमा भए पनि परीक्षा लिन सक्ने गरी तयारी थाल्न बोर्डलाई निर्देशन दिइसकेको छ । तर बोर्डले कहिले परीक्षा हुने भन्ने विषयमा मन्त्रालयसँग जानकारी लिइरहेको छ ।

मन्त्रालयले विद्यार्थीलाई कुनै पनि समस्या नपर्ने गरी परीक्षा सञ्चालन गर्ने तयारी थाल्न बोर्डलाई निर्देशन दिएको छ । तर ६ महिनादेखि समयैमा निर्णय नगर्दा उच्च शिक्षा अध्ययन गर्ने तयारीमा रहेको करिब ४ लाख २६ हजार विद्यार्थीको भविष्य अन्योल हुने अवस्थामा पुगेको छ । कक्षा १२ को परीक्षा नहँुदा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई समस्या परेको छ ।

हिमाली जिल्लामा असम्भव
असोजमा परीक्षा तालिका सार्वजनिक नगरे हिमाली र उच्च पहाडी जिल्लामा परीक्षा लिन नसकिने भएको छ । मंसिर अन्तिमदेखि उच्च हिमाली जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, रसुवा र मुगुमा हिमपात हुने भएकाले ती जिल्लामा मंसिर अन्तिममा परीक्षा सकिने गरी तयार गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा चरणबद्ध परीक्षा लिनुपर्ने उल्लेख गर्दै पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा परीक्षा सञ्चालन गर्नुपर्ने जनाएको थियो ।

मन्त्रालयले असोज महिनाभित्र निर्णय गरी मंसिरको पहिलो सातादेखि हिमाली र उच्च पहाडी जिल्लामा परीक्षा सञ्चालन गर्ने तालिका तयार नगरे ती जिल्लामा यो वर्षको परीक्षा सम्पन्न गर्न असम्भव देखिन्छ ।

मंसिरमा परीक्षा नभए केही पछि हिमपात हुने जुम्ला, बझाङ, ताप्लेजुङ, बाजुरालगायत उच्च पहाडी जिल्लामा समेत परीक्षा लिन नसकिने बोर्डले औंल्याएको छ ।