सुमो दुर्घटनामा ३ जनाको मृत्यु


हेटौंडा, (नेस)
हेटौंडा–काठमाडौं छोटो मार्ग मदन भण्डारी मार्गअन्तर्गत मकवानपुरको भीमफेदीमा आइतबार दिउँसो भएको सुमो दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

भीमफेदी गाउँपालिका–६, चिसापानीगढीनजिक सुमो दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा १ बालकसहित ५ जना घाइते भएका थिए । दुर्घटनामा हेटौंडा पदमपोखरी बस्ने २५ वर्षीय भीमबहादुर थिङ र मकवानपुर ठेगाना रहेका २६ वर्षीय राजन रानामगरको घटनास्थलमा मृत्यु भएको थियो ।

झापाको जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रनाउ रानाका अनुसार सुमोलाई उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा सडकबाट तल खसेको हो । प्रहरी नायब उपरीक्षक रानाले घटनास्थलमा २ पुरुषको मृत्यु भएको बताउनुभयो । सुमो सडकबाट करिब सय मिटर तल खसेको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

सुमोमा बालकसहित ८ जना थिए । भीरमा ठक्करका कारण मृतकको अनुहार चिन्न नसकिने अवस्थामा रहेको प्रवक्ता रानाले बताउनुभयो ।

सुमोचालक भीमफेदी गाउँपालिका–४ का २९ वर्षीय विष्णु मगरको चुरेहिल हस्पिटल हेटौंडामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते बालकको भीमफेदीमा उपचार भएको थियो ।

घाइतेमध्ये हेटौंडा–३, बसामाडीकी ३० वर्षीया शर्मिला थिङ, रौतहट रंगपुरका २९ वर्षीय सुजनकुमार काफ्ले र मकवानपुरगढी गाउँपालिका–४ का २७ वर्षीय सोमबहादुर गुरुङलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बालकको सामान्य उपचारपश्चात् हेटौंडास्थित एक शिशु स्याहार केन्द्रमा संरक्षणका लागि जिम्मा लगाइएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज४१०६ नम्बर दक्षिणकाली यातायातको सुमो दुर्घटनामा सुमोका २ यात्रीको घटनास्थलमा मृत्यु भएको थियो भने एक महिलाको उपचारका क्रममा मत्यु भएको थियो ।