न्यायाधीशलाई कोरोना, सर्वोच्चमा मुद्दाको सुनुवाइ स्थगित


विकास भट्टराई, काठमाडौं

सर्वोच्च अदालतमा कोरोना भाइरसको संक्रमण बढेपछि आइतबारबाट मुद्दा मामिलाको सुनुवाइ प्रभावित भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश, अधिकृत तथा अन्य कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि एक्कासि मुद्दा मामिलाको कारबाही प्रभावित भएको हो ।

सर्वोच्चमा मुद्दा मामिलाका लागि तयारीमा रहेका कानुन व्यवसायी तथा अन्य सेवाग्राहीले एउटा मात्र इजलास गठन भएपछि के कारणले अन्य इजलास गठन नभएको भन्ने बुझ्न चाहेपछि कोरोना भाइरसका कारण मुद्दा मामिलाको सुनुवाइ स्थगित भएको जानकारी गराएको थियो ।

काठमाडौं उपत्यकामा अन्य कार्यालयमा तथा समुदायमा पनि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएसँगै न्यायालयमा पनि त्यसको संक्रमण बढेपछि अदालतमा सन्त्रास फैलिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौं उपत्यकाका अदालतहरूमा बढी मात्रामा सन्त्रास फैलिएको छ । सर्वोच्च अदालको प्रशासनबाट थाहा भएअनुसार न्यायाधीश, केही अधिकृत र कर्मचारी कोरोना भाइरसबाट संक्रमति हुनुभएको संक्रमित एवं त्यसबाट प्रभावितहरू होमक्वारेन्टाइन तथा सेल्फआइसोलेसनमा रहनुभएको छ । न्यायाधीशहरू नै क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका कारण मुद्दा मामिलाको कार्य प्रभावित भएको बताइएको छ ।

सर्वोच्चमा के कति दिन मुद्दा मामिलाको सुनुवाइ हुने प्रक्रिया प्रभावित हुन सक्ने भन्ने अन्योल रहेको छ । सर्वोच्चबाट पनि आधिकारिकरुपमा के कति दिन सुनुवाइ प्रक्रिया अवरुद्ध हुन्छ भन्ने सम्बन्धमा केही पनि बताइएको छैन ।

काठमाडौं जिल्ला अदालतका एक कर्मचारीले पनि सो अदालतमा कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकामा खैलाबैला भएको जानकारी दिए ।

ती कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘सर्वोच्चमा न्यायाधीश तथा कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण भएपछि यस आदालतमा पनि आइतबार दिउँसो खैलाबैला भएको थियो । सोमबारबाट यस अदालतमा पनि मुद्दाको सुनुवाइ केही घट्न सक्ने देखिन्छ ।’

आइतबार सर्वोच्चमा डा. मनोजकुमार शर्माको एकल इजलास मात्र गठन भएको थियो । सो इजलासबाट प्रारम्भिक सुनुवाइ मात्र भएको छ । अन्य इजलास गठन नभएको जानकारी सेवाग्राही तथा कानुन व्यवसायीले पौने १० बजेमात्र थाहा भएको थियो ।

सर्वोच्चमा के कति दिन मुद्दाको सुनुवाइ नहुने भन्नेसम्बन्धमा अन्योल नै रहेको छ । दशैंअघि अब मुद्दाको सुनुवाइ नहुने संकेत देखिएको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए ।