-कृष्णहरि बास्कोटा
मेरो पिता हरिहर बास्कोटा ९५ वर्षको हुनुहुन्छ । उहाँको सम्झनाअनुसारको बजार भाउ सुनेर जो–कोहीलाई आश्चर्य लाग्न सक्छ । हामी बाबु–छोराबीच भएको कुराकानीले करिब ८०–९० वर्षअघिको नेपाल बुभ्mन पाठकहरुलाई पनि सुविधा पुग्ने ठानी यो आलेख तयार गरेको छु ।
एक पैसाको खाजा
धादिङको केवलपुरमा वि.सं. १९९२ मा सरकारी पाठशाला खुल्यो । मेरो बुबा सो स्कुलमा पढ्न जान थाल्नुभयो । कहिलेकाहीँ उहाँले कृष्णमान साहूको पसलमा गएर एक पैसाको खाजा किनेर खाने गर्नुहुन्थ्यो । सो बखत एक पैसामा चिउरा र भुटेको भटमास आउँथ्यो । दौरामा खाजा थाप्दा साहू बाले पेटभरि पुग्ने गरी खाजा हालिदिनुहुन्थ्यो । यो आजभन्दा करिब ८५ वर्षअघिको कुरा हो ।
एक वर्षको घरभाडा पाँच रुपियाँ
वि.सं. १९९९ मा मेरो बुबा काठमाडौं चारखालमा रहेको मधेस पहिला फाँटको नौसिन्दामा जागिरे हुनुभयो । तब, उहाँले काठमाडौंको किलागलमा राधाकृष्णको छोराको घरमा डेरा खोज्नुभयो । राधाकृष्णका दुई जहान थिए । पहिलीबाट सन्तान नभएपछि जेठीले नै राधाकृष्णको दोस्रो विवाह गराइदिएकी थिइन् । सोही डेरामा मेरो आमा सुत्केरी हुनुभयो ।
सो बखत तिनै दुई घरपति बूढीआमाहरुले मेरो आमाको स्याहार गरिदिए । उनीहरुले कुसलिनी खोजिदिने, उखुको खोइला किनिदिने, खाना पकाउन सघाइदिने गरेर हाम्रो परिवारलाई ऋण लगाए । सो घरको एक कोठाको डेराभाडा मेरो बुबाले वर्षको रु. ५ तिर्नुहुन्थ्यो । पछि मेरो आमा–बुबा भुरुङखेलमा डेरा सर्दा पनि एउटा कोठाको भाडा वर्षको ५ रुपियाँ नै थियो । यो आजभन्दा ७८ वर्षपूर्वको घटना हो ।
एक अँगालो सागको एक पैसा
मेरो बुबा राणाकालमा नौसिन्दाको पदमा जागिरे हुनुहुन्थ्यो । एक दिन बिहान आमा भात पकाउन थाल्नुभयो । बुबा काठमाडांै मरु गणेश घुम्न घरबाट निस्कनुभयो । मन्दिर घुमेपछि एकजना किसानले खर्पनभरिको चमसुरको साग देखाउँदै दुई पैसामा लैजान मेरो बुबालाई आग्रह गरे । मेरो बुबाले एक पैसामा दिने भए लैजान्छु भन्नुभयो ।
ती किसानले लैजा, भनेपछि एक पैसा तिरेर एक अँगालो साग लिएर डेरामा पुग्नुभयो । मेरी आमाले अश्चर्य मान्दै यत्रो साग के गर्ने ? भनेर सोध्नुभयो । साथै, गुन्द्रुक हाल्ने ? भनी सोध्नुभयो । मेरो बुबा अलमलिएर, छरछिमेकीलाई बाँडिदिन भन्नुभयो । त्यसपछि मेरी आमाको दुई दिनको काम चमसुरको साँग निःशुल्क वितरण गर्दैमा बितेको थियो ।
एक आनाको हलुवा–स्वारी
मेरो बुबा कहिलेकाहीँ धादिङको केवलपुरबाट बिहानै हिँड्र १० नबज्दै काठमाडौंको चारखाल अड्डा आइपुग्नुहुन्थ्यो । सो बखत अर्थात् वि.सं. २००२÷०३ तिर भोक लागेर नजिकैको हलुवाई पसलमा गएर पेटभरि स्वारी र हलुवा खाँदा ४ पैसा अर्थात् एक आना रकम तिर्ने गर्नुहुन्थ्यो ।
तीन पैसा मानु दूध
वि.सं. २००४÷०५ तिर मेरो बुबा आप्mनी फुपूलाई भेट्न नुवाकोटको झिल्टुङ जानुभएको थियो । सो बखत फुपूले काहिँली नेवार्नीको पसलबाट दूध किनेर ल्याउन अराउनुभयो । सो बखत मेरो बुबाले ३ पैसा मानु दूध किन्नुभएको थियो ।
दुई रुपियाँमा फरिया
राणा शासनको अन्तिम समयमा मेरो बुबा सरकारी जागिरे हुनुभएको थियो । १९९९ सालमा नौसिन्दा हुँदा उहाँको मासिक तलब ११ रुपियाँ थियो । पछि २००४ सालमा नायब राइटरमा पदोन्नति भएपछि उहाँको मासिक तलब १८ रुपियाँ भयो । सो बखत उहाँले मेरी आमालाई कमलपोखरी छाप हानेको फरिया २ रुपियाँमा किनिदिनुभएको थियो ।
आठ पैसामा एक पाउ मासु
वि.सं. १९९९ मा नौसिन्दाको जागिरमा प्रवेश गर्नुभएका मेरो बुबा २००५ सालतिर ओछ्यान पर्नुभयो । उहाँलाई टीबी रोग लाग्यो । मेरो आमाले प्रत्येक दिन एक पाउ खसीको मासु किनेर मेरो बुबालाई मासु–भात खुवाउनुहुन्थ्यो । काठमाडौंको भुरुङखेल र डल्लुमा डेरा गरी बस्ने मेरो बुबा–आमाले क्षेत्रपाटीको ढुंग्री लगाएकी मासु पसल्नीको पसलबाट ३ वर्ष दैनिक एक पाउ मासु किन्नुभयो । सो बखत खसीको मासु एक रुपियाँ धार्नीमा पाइन्थ्यो । बुबाको सम्झनाअनुसार धरहरामा खसीको मासु एक पाउको १० पैसा, च्याङ्ग्राको एक पाउ मासुको ८ पैसा र भेडाको मासुको एक पाउको ६ पैसा भनी मूल्य टाँसिएको थियो । यो आजभन्दा करिब ७२ वर्षअघिको कुरा हो ।
एक सय रुपियाँमा घर खरिद
मेरा आमा–बुबा काठमाडौंको भुरुङखेलबाट डेरा सरेर डल्लु बस्न जानुभयो । सोही बखत मेरा माता–पिताका छिमेकी शान्तिको आमाको घरनजिक एउटा कुमाईं बाहुनको छाप्रो बिक्रीमा आयो । मूल बाटोमाथि काँचो इँटाको गाह्रो लगाएको र परालले छाएको एकतले घर थियो । बाटोमुनि एक टुक्रा जमिन पनि थियो । सो जमिनमा छाप्रे चर्पी पनि थियो । निज घरधनीले क्षेत्रपाटीमा सस्तोमा घर पाएकाले यो घर मेरो आमा–बुबालाई बिक्री गरेका थिए । काठमाडौंको सो घर–जग्गाको मूल्य एक सय रुपियाँ थियो । यो घटना २००८ सालको अर्थात् आजभन्दा ६९ वर्षअघिको हो ।
हवाई भाडा बाइस रुपियाँ
हाम्रा हजुरबुबा देवीप्रसाद बास्कोटा सल्यानको बडाहाकिममा नियुक्ति हुनुभयो । मेरो बुबा मालपोतको तहविलदार जागिर खान त्यसतर्फ प्रस्थान गर्नुभयो । सोही क्रममा जाजरकोटमा २५–३० वटा घट्ट दर्ता गर्नुपर्ने काम आयो । यसका लागि जिम्मेवारी तोकिएका पदाधिकारीले एकजना साथी मागे । मेरो बुबा साथी कर्मचारी तोकिइनुभयो । उहाँहरु जाजरकोट पुगेको अर्को दिन सल्यानबाट एकजना कार्यालय सहयोगी आकाशवाणी सन्देश लिएर मेरो बुबाकहाँ पुगे ।
उनले दिएको आकाशवाणीमा मेरो आमा सिकिस्त बिरामी भएकाले तुरुन्त घर (धादिङको केवलपुर) मा आउनु भन्ने थियो । मेरो बुबा भारतको मार्ग हुँदै रक्सौलबाट वीरगन्ज पुगी सिमरा–काठमाडौंको हवाई टिकट खोजी गर्नुभयो । विमानका कर्मचारीले चान्समा मात्रै उडाउन सक्ने बताएपछि उनीहरुकै पछि लाग्नुभयो । अन्त्यमा, हवाइजहाज सिमरा एयरपोर्टमा ल्यान्ड गरेपछि मेरो बुबासँग हवाई भाडा माग गरी टिकट काटिदिए । बुबाले सिमरा–काठमाडौं उडान बापत रु. २२ हवाई भाडा तिर्नुभयो । यो २०१७ साल अर्थात् आजभन्दा ६० वर्षपहिलेको कुरा हो ।
एक महिना खाए–बसेको चालीस रुपियाँ
मेरो बुबा जागिरको दौरान २०२१ सालमा नुवाकोट पुग्नुभयो । सो बखत साथी तिलकबहादुर थापासँग रुम पार्टनर भएर बस्नुभयो । मेरो बुबा र उहाँको साथी सो घरमा पेइङ गेस्ट भएर बस्नुभएको थियो । उहाँहरु दुवैजनाको मासिक तलब १ सय २० रुपियाँ थियो । त्यसबाट घरपतिलाई मासिक ४० रुपियाँ तिरेपछि बिहान–बेलुक भात, दाल, तरकारी र एक डाडु दूध खान पाउनुहुन्थ्यो । यसरी खाना खाएको रकम तिरेपछि घरभाडा फ्री हुन्थ्यो ।
चार पैसामा चना–चिउरा
वि.सं. २०२२ मा मेरो बुबा भूमिसुधार कार्यालय, बागबजारमा काम गर्नुहुन्थ्यो । सो बखत दिउँसोको खाजामा चना–चिउरा एक प्लेट खाएर टन्न पानी पिउनुहुन्थ्यो । यसबापत मेरो बुबाले चार पैसा तिर्ने गर्नुहुन्थ्यो ।
सत्र हजारको जग्गा बीस करोडको भयो
मेरो परिवार २०२९ सालमा चितवन बसाइँ स¥यो । यसको एक–दुई वर्षपछि मेरो बुबाले ५ कठ्ठा घर घडेरी जग्गा ५ हजारमा खरिद गर्नुभयो । त्यसको एक वर्षपछि पुनः साँधमा रु. १२ हजारमा चार कठ्ठा जमिन थप्नुभयो । समयको कालखण्डसँगै मेरो बुबाले सो जमिनलाई धैरै टुक्रा गरेर बिक्री गरी घरखर्च चलाउनुभयो । हाल उहाँले औसतमा आधा कठ्ठाका दरले आप्mना ४ छोरा र २ छोरीलाई घडेरी जग्गा दिएर अरु जमिन बिक्री गर्नुभयो । हाल म र मेरो बुबा बसी सो ९ कठ्ठा जमिनको मूल्य निकाल्दा सजिलै रु. २० करोडको मूल्य पुगेको पायौं । यसरी रु. १७ हजारको जमिन रु. २० करोडमा रुपान्तरित भएकोमा बाबु–छोरा चकित भयौं । यो आजभन्दा करिब ४४ वर्षअघिको कुरा हो ।
प्रतिक्रिया