१ सय ६३ जनाद्धारा रक्तदान


काठमाडौं, (नेस)
बाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरको नेतृत्वमा भएको रक्तदानमा शनिबारसम्म १ सय ६३ जनाले रक्तदान गरेका छन् ।
पाँचौं चरणको रक्तदानमा शनिबार ७१ जनाले रक्तदान गरेका थिए ।

चक्रपथ सरसफाइ अभियानको आयोजनामा भएको शनिबारको कार्यक्रममा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले पनि सहकार्य गर्नुभएको थियो । चक्रपथ सरसफाइ अभियानका प्रमुख अभियन्ता कुँवरले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ । पछिल्लो समयमा उपत्यकामा रगतको अभाव हुन थालेपछि यस्तो अभियान चलाएको कुँवरले बताउनुभएको छ ।

‘मैले अरु अभियानसँगै रक्तदान कार्यक्रम पनि गरेको हुँ, रगतको अभावले धेरै मानिसको ज्यान गएको समाचार सुनेपछि यतातिर पनि लागें’, उहाँले भन्नुभयो– ‘रगतको अभावले कसैको पनि मृत्यु नहोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो ।’

उहाँले चैत ११ गतेबाट कोरोना भाइरसको त्रासले भएको लकडाउनदेखि अहिलेसम्म १ हजार २ सय ४७ जनालाई राहत स्वरुप चामल, दाल, चिनी, तेललगायतका सामग्री वितरण गर्नुभएको छ । उहाँले राहत वितरण अभियानलाई अहिले पनि निरन्तरता दिनुभएको छ ।