उपत्यकाको फोहोर कात्तिकदेखि बन्चरेडाँडामा, शहरी विकास मन्त्रालय भन्छ सकभर दशैंअघि


ईश्वरराज ढकाल, काठमाडौं

उपत्यकाको फाहोर कात्तिकदेखि बन्चरेडाँडामा विसर्जन गर्ने तयारी भएको छ । सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न समस्या भएपछि कामपा वातावरण व्यवस्थापन विभागले तत्काल बन्चरेडाँडा ल्यान्डफिल साइट तयार गर्न आग्रह गरेपछि शहरी विकास तथा भवन निर्माण विभागले कात्तिकभित्र फोहोर विसर्जन मिल्ने गरी तयारी गरेको छ ।

स्थानीय राजनीतिक दलका टोलीले शनिबार अनुगमन गर्दा कात्तिकदेखि फोहोर विसर्जन गर्न सकिने अवस्था देखेको कामपा प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।
गएको चैतदेखि फोहोर विसर्जन गर्ने तयारी भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा हालसम्म निर्माण जारी छ । शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दुवाडीले सम्भव भएसम्म कात्तिक १ नभए कात्तिक महिनाभित्र बन्चरेडाँडामा फोहोरको अन्तिम विसर्जन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘सोहीअनुसार भवन निर्माण विभागलाई निर्देशन दिएका छौं ।’ उहाँका अनुसार अन्तिम चरणको काम भइरहेको र यो महिनाभित्र सम्पन्न भएर फोहोर विसर्जन गर्ने योजनामा रहेका छौं । फोहोर व्यवस्थापनमा समस्या भएपछि प्रधानमन्त्री कार्यालयले समेत गम्भीर चासो लिएको छ ।

पछिल्लो समय ठेकेदारले बन्चरेडाँडामा संरचना निर्माण गर्न लागेको झन्डै दुई वर्ष पुग्न थालिसकेको छ, तैपनि काम हुन सकेको छैन । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापना विभागले चैतदेखि नै फोहोर व्यवस्थापन गर्न सकिने जनाउँदै आएको थियो । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले सरकारको योजनाअनुसार कात्तिकभित्र फोहोर व्यवस्थापन गर्नेछ, निर्माण सुस्तताले गर्दा अहिले नै भन्नसक्ने अवस्था छैन ।

१८ स्थानीय निकायले सिसडोलमा फोहोर व्यवस्थापन गरे पनि यसको मुख्य दायित्व कामपाको छ । तर सरकारी सुस्तताले गर्दा महानगर आजित भइसकेको छ ।
ल्यान्डफिल साइटका इन्जिनियर मनोज नकर्मीले सकेसम्म दशैंअघि नभए दशैलगत्तै फोहोर विसर्जन गर्नेगरी निर्माण भइरहेको जानकारी दिनुभयो । नकर्मीले भन्नुभयो– ‘लिचेड पोखरी निर्माण अन्तिम चरणमा पुगेको छ । केही दिनमा बाटोको काम सकिनासाथ फोहोर विसर्र्जन गर्नेछौं ।’

कामपा प्रहरी प्रमुख सापकोटाका अनुसार तीनपिप्लेसम्मको बाटो कामै नलाग्ने भएको र सिसडोलदेखि बन्चरे जानेबाटो निर्माण गर्न आवश्यक छ । अबको एक महिनामा ठेक्का अवधि सकिने भएपछि विभागले धमाध काम गरिहेको छ ।

‘ल्यान्डफिल जाने बाटोको निर्माण सकिएको, लिचेड राख्ने पोखरी निर्माणकार्य अन्तिम चरणमा भइरहेको र केही दिनभित्र सक्ने तयारी गरेका छौं।’ –उहाँले भन्नुभयो । तर कामपाले भने कछुवा गतिमा काम भइरहेको कारण कात्तिकमा सक्ने विषयमा शंका रहेको जनाउनुभएको छ ।

कामपा ल्यान्डफिल साइट इन्चार्ज सरकारद्वीप श्रेष्ठले कुनै व्यवधान नभई धमाधम काम सम्पन्न गरे दशैंपछि फोहोर विसर्जन गर्नसक्ने सम्भावना रहेको बताउनुभयो । ‘यही अवस्थामा त मंसिरमा पनि सकिँदैन । हल्लामा यो दिनमा सक्छौं भन्नु बेकार छ।’ –उहाँको भनाइ छ ।

दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर विसर्जन भइरहेको छ । विसं २०६२ सालमा २ वर्षका लागि मात्रै फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल निर्माण भएको छ । सरकारले बन्चरे डाँडाडालाई दीर्घकालीनरुपमा प्रयोग गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ।