चिकित्सकको सुरक्षाको माग


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल चिकित्सक संघले कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसमक्ष ९ बँुदे ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले संयुक्तरुपमा हस्ताक्षर गरी शुक्रबार पेस गरेको ज्ञापनपत्रमा कोरोनाको जोखिमका बाबजुज पनि प्रथम पंक्तिमा रही स्वास्थ्य सेवा प्रवाहमा समर्पित भएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु संक्रमित हुने क्रम तीव्र गतिमा वृद्धि हुँदै गइरहेको, हाल आएर स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सकको मृत्यु हुने क्रमको शुरुवातसमेत भएकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ भनिएको छ ।

संघले मन्त्रालयमा पेस गरेको पत्रमा काठमाडौं उपत्यकाबाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शीघ्र उपचारका लागि काठमाडौंमा ल्याउनको निमित्त आकस्मिक हेलिकोप्टरको व्यवस्थापन गर्नुपर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएको खण्डमा निजहरुको उपचार खर्चलगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाल सरकारले नै लिनुपर्ने, नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु जस्तै रेम्डिसिभिरलगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आईसीयू बेडहरु र जनरल बेडहरुको संख्या वृद्धि गर्नुपर्ने, विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम देशभरका स्वास्थ्य संस्थाहरुमा संक्रमण व्यवस्थापनसम्बन्धी ठोस प्रभावकारी रणनीति तर्जुमा गरी अनिवार्य कार्यान्वयन गर्नुपर्ने, युद्धमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबल उच्च पार्नका लागि सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता गराउनुपर्नेलगायत छन् ।

सेवा गर्दागर्दै कुनै चिकित्सकको कोरोनाका कारण मृत्यु भएमा बीमाबाट एक करोड बराबरको क्षतिपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने र स्वास्थ्यकर्मीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था हुनुपर्नेलगायतका माग पनि सो ज्ञापनपत्रमा उल्लेख छन् ।