ओलीको निर्णयमाथि प्रश्न

0
Shares

काठमाडौं, (नेस)
चार महिनासम्म जारी आन्तरिक विवाद समाधान हुन नपाउँदै पुनः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बल्झिएको छ । भदौ २८ मा सम्पन्न स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नियुक्ति पार्टीको परामर्शमा मात्र गर्ने निर्णय भए पनि महत्वपूर्ण नियुक्ति एकलौटी ढंगले अगाडि बढाएको भन्दै विवाद बल्झिएको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै परामर्श नै नगरी बेलायत र अमेरिकाको राजदूत नियुक्ति गर्न सिफारिस गर्ने निर्णय लिनुभएको थियो ।

राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरू एकलौटी ढंगले गरेको भन्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्दा पार्टीलाई प्रधानमन्त्री ओलीले जानकारी नगराएको एक सचिवालय सदस्यले बताए ।

उनका अनुसार पार्टीभित्र आन्तरिक विवाद समाधान गर्न बनेको समझदारी लत्याउँदै प्रधानमन्त्री अगाडि बढेपछि पुनः विवाद तिम्त्याएको छ । राजदूत नियुक्ति गर्दा प्रधानमन्त्रीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई थाहासम्म नदिएको प्रचण्डको सचिवालयले बताएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीजीले स्थायी कमिटीको निर्णय र पार्टीमा बन्दै गरेको सहमतिको भावनाविपरीत एकलौटी निर्णय गरेकाले अब बस्ने सचिवालय बैठकमा गम्भीरताको साथ उठ्ने बताउनुभयो । ‘छलफल पनि छैन, जानकारी पनि छैन, पार्टीले गरेको निर्णय त पालना गर्नुपर्ने हो।’ –उहाँले भन्नुभयो ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति गर्दा सचिवालयमा भएको छलफल र दुई अध्यक्षको परामर्शमा गर्ने उल्लेख गरिएको छ । स्थायी समिति बैठक निर्णयको बुँदा ७ को उपबुँदा ७ मा सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारीरूपमा कार्यन्वयन गर्ने भनिएको छ ।