बाँकेमा एकै दिन डाक्टरसहित तीनको मृत्यु

0
Shares

बाँके, (नेस)

बाँकेमा कोरोनाबाट एकै दिन डाक्टरसहित तीन जनाको मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्जमा एक र कोहलपुर मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, खजुरा गाउँपालिका–३ का ५२ वर्षीय वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको बिहीबार दिउँसो ३ः१० बजे मृत्यु भएको हो ।

११औं तहका चिकित्सक सापकोटा भेरी अस्पताल, नेपालगन्जमा दरबन्दी रहे पनि काजमा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत थिए ।

डा. सापकोटा असोज १ गते भेरीमा भर्ना भएका थिए । भदौ २९ गते कोरोना पुष्टि भएको थियो । डा. सापकोटाको दुवै साइडको फोक्सोमा कडा निमोनिया थियो ।

कोहलपुर मेडिकल कलेजमा राती एक बजे र ५ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिला रहेकी छन् ।

फोकलपर्सन श्रेष्ठले पछिल्लो दिनमा बाँकेमा कोरोना संक्रमितको दैनिक मृत्यु भइरहेको जानकारी दिनुभयो । मृत्यु हुनेमा दीर्घरोगी र जेष्ठ नागरिक छन् ।

श्रेष्ठका अनुसार, बिहीबारको सहित गरेर बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । बाहिरीबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।