पर्वतको पर्यटकीय गाउँ जोड्ने मोटरेबल पुल ५ वर्षमा पनि बनेन

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वतको पर्यटकीय गाउँ भूकदेउराली जोड्न निर्माण थालिएको मोटरेबल पुल पाँच वर्षमा पनि पूरा हुन सकेको छैन ।
सम्झौताको दुई वर्षमै सक्ने लक्ष्यसहित थालिएको भुरुङ्गदीखोला मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण पाँच वर्षमा पनि पूरा नभएको हो ।
पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने यो पुलको पाँच वर्षमा १० प्रतिशत पनि काम भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन ।
सरकारले पाँच वर्षअघि निर्माण शुरू गरेको मोटरेबल पुल निर्माणका लागि २०७२ सालमै ६ करोड १३ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएपछि तत्कालै निर्माण थालिए पनि आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म पुलको काम अगाडि नबढेकोमा स्थानीयबासी रुष्ट बनेका छन् ।
पुल निर्माणका लागि जनप्रतिनिधिले धेरैपटक स्थलगत अनुमगन, सडक डिभिजन तथा निर्माण व्यवसायीलाई उपस्थित गराएर काम शुरू गराउने सहमति गराए पनि प्रगति भने हुन सकेको छैन ।
‘धेरैपटक हामीले पुलको बारेमा सरकारी निकायमा कुरा राखेका छौं’, स्थानीय शुक्रराज ढुंगानाले भन्नुभयो– ‘पुलको काम रोकिएको बारेमा गुनासो गरेको थाहा पाए उल्टै ठेकेदारले धम्की दिन्छन् ।’ पुल बन्ने चाहना पूरा नहुँदा आपूmहरू निरास भएको उहाँको भनाइ छ । पुल अलपत्र हुँदा बर्खामा सडकमा गाडी नै गुड्दैनन् भने हिउँदमा खोलामा पसेर सवारी वारपार गर्छन् ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता मौखिकरूपमा व्यक्त गरे पनि निर्माण कम्पनीले काम अघि नबढाएको जानकारी दिनुभयो । ‘पटकपटक ताकेता गरेकै छौं’, लम्सालले भन्नुभयो– ‘काम अघि बढाउन निर्माण व्यवसायी गम्भीर देखिएनन् । ताकेता गर्दागर्दै अटेरी गरेपछि सम्झौता रद्द गर्ने तयारी भएको छ ।’
स्थानीय तहको गठनअघि नै निर्माण शुरू भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयबासी निकै ठूलो हैरानी बेहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल बताउनुहुन्छ । स्थानीय तह, संघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उहाँको भनाइ छ ।