प्रेममान डंगोल
एउटा जीव नै अर्को जीवको जीवन आधार भएकैले जीव हिंसा गर्नु जीवन यात्रामा अपरिहार्य कुरा हो भन्ने तथ्य मनुस्मृतिलगायतका धार्मिक ग्रन्थमा स्पष्ट उल्लेख गरिएको छ । हिंसाविना यो संसारमा कसैको पनि जीविका चल्दैन । अरुको त के कुरा, वनमा एकान्त स्थानमा बस्ने ऋषिमुनिको जीविका पनि हिंसारहित छैन भन्ने कुरा महाभारत शान्ति पर्वमा उल्लेख गरिएको छ । यसमा गहिरिएर विचार गरेमा बुझ्न सकिनेछ ।
यहाँनेर हामीले विचार गर्नुपर्ने कुरा के छ भने, यो संसारमा अहिंसा नै परमोधर्म भनि जतिसुकै व्यापकरुपमा प्रचारप्रसार भैरहे तापनि यहाँ हिंसा नै व्याप्त भइरहेको देखिन्छ । विनाहिंसा यहाँ कोही पनि बाँच्न सक्दैन । हुन त भगवान् बुद्धले कसैलाई पनि चित्त दुख्ने गरी नराम्रो वचन लगाउनु पनि हिंसा हो भन्नुभएको छ । यो त भयो भावनात्मकरुपमा गरिने हिंसा । तर सीधै गरिने हिंसा भनेको जीव हिंसा नै हो । कसै–कसैले मासु खाँदा मात्र हिंसा हुन्छ, श्वास फेर्दा, पानी पिउँदा र दाल–भात–तरकारी खाँदा हिंसा हुँदैन भन्ने ठानेका छन् ।
वास्तवमा त्यस किसिमका कुरा न शास्त्रसम्मत छन्, न त विज्ञानसम्मत नै । केवल अविवेकीले मात्र त्यस्तो ठानिरहेका छन् । यहाँ त पलपलमा हिंसा भइरहेको हुन्छ । सबै स्थानहरुमा हिंसा भइरहेको छ ।
हिंसा र अहिंसाको विषयमा विचार गर्दा महाभारतको वन पर्वमा उल्लेख गरिराखेको धर्मव्याधको कथा मननयोग्य छ । त्यस कथाको सारांश यस्तो छ– एकजना ब्राह्मण राजा जनकले शासन गरिरहेको देश मिथिलामा धर्मव्याध नामक एक धार्मिक मानिस छन् भन्ने सुनेर धर्मको तत्व थाहा पाउन त्यहाँ पुग्छन् ।
ती ब्राह्मणले धर्मव्याधलाई मासु पसलमा बसेर मृग र राँगाको मासु बेचिरहेको देख्छन् अनि धर्मव्याधलाई तपाईंजस्तो धर्मात्मा मानिसले यस्तो क्रुर कर्म गर्न सुहाउँदैन भन्छन् । धर्मव्याधले ती ब्राह्मणलाई सत्कार गरी धर्मको व्याख्या गर्दै भन्छन्– ‘मैले मेरा पुर्खा बाबुबाजेदेखि गर्दै आइरहेको काम गरेको हुँ । म आफ्नो कर्तव्य पालनमा अत्यन्तै सावधानी र सत्यनिष्ठ भइरहेको छु, मिथ्या व्यवहार गर्दिन । त्यसो भएर म निर्दोष छु ।’
यसै क्रममा धर्मव्याधले मासु बेच्नु र खानुलाई हिंसा कर्म भनेर अत्यन्तै निन्दा गर्ने ती ब्राह्मणलाई हिंसा नगरीकन कसैको पनि जीवन यात्रा नचल्ने कुरा पनि राम्ररी बुझाइदिए । धर्मव्याधले ब्राह्मणलाई भनेका मुख्य–मुख्य कुरा यस्ता छन्– ‘हे ब्राह्मण, मानिसले खेतीलाई उत्तम ठान्छन् तर त्यहाँ पनि हिंसा व्याप्त छ । खेत खन्दा वा हलो जोत्दा खेतमा बस्ने धेरै प्रणी मरिरहेका हुन्छन् । त्यसमा तपाईंलाई कस्तो लाग्छ ? हे ब्राह्मण, धानलगायत अन्नका बीउ सबै प्राणयुक्त जीव हुन् । यसमा लपाईंले के ठान्नुहुन्छ ? हे ब्राह्मण, रुखमा फलफूलमा र पानीमा पनि धेरै जीव हुन्छन् ।
यस विषयमा पनि तपाईंले के ठान्नुहुन्छ ? हे ब्राह्मण, प्राणीलाई मारेर नै जिउने प्राणीहरु सबै ठाउँमा व्याप्त भइरहेका छन् । एउटा माछाले अर्को माछालाई खान्छ । यसमा तपाईंको विचार के छ ? मानिसले हिँड्दाखेरि भुइँमा हिँडिरहेका धेरै जीवको हत्या गरिरहेकै हुन्छ । यसमा तपाईको कस्तो सोचाइ छ ? हे श्रेष्ठ ब्राह्मण, जो अहिंसामा तत्पर भइरहन्छन्, उनीहरुले नै जीविकाको लागि हिंसा गरिरहेका हुन्छन् । तर उनीहरुले धेरै प्रयास गरेर कम मात्र हिंसा गर्छन् ।’
यसरी यहाँ धर्मव्याधको कथामा हिंसाको सूक्ष्मतालाई बुझ्ने गरी वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि हिंसाविना त तपस्वीहरुका पनि प्राण बाँच्दैन भन्ने उल्लेख गर्दै सृष्टिचक्रमा जीवन यात्राका लागि हिंसा अपरिहार्य छ भन्ने कुरा स्पष्ट गरिराखेको छ । त्यहाँ भनिएको छ– हिंसाविना यो संसारमा कसैको पनि जीवन चल्दैन । दुर्बल प्राणीको हिंसा गरेर बलिया प्राणी बाँचिरहेका हुन्छन् । बिरालोले मुसा खान्छ, कुकुरले बिरालो खान्छ, त्यस्तै कतिपया पशुलाई मान्छेले खान्छन् । यहाँ जति पनि प्राणी छन्, सबै प्राणका अन्न नै हुन् । यो ब्रह्माले बनाइराखेको विधान हो ।
यसमा विवेकशील मानिसहरु अलमलमा पर्दैैनन् । क्रोध र हर्षलाई छोडेर अर्थात् त्याग गरेर वनमा बस्ने तपस्वीहरुले पनि हिंसा नगरी जीवन चलाउन सक्दैनन् । पानीमा धेरै प्राणी रहेका हुन्छन् । फलफूलमा पनि त्यत्तिकै प्राणी रहेका हुन्छन् । यहाँ प्राणी हत्या नगर्ने कोही पनि छैन । पानी नखाने, पृथ्वीको उपभोग नगर्ने र फलफूल, दही–दूध नखाने को छ ?
बराह पुराणको अष्टम अध्यायमा पनि धर्मव्याधको कथा छ । कथा यस्तो छ– मिथिलामा एक व्याधा रहेछ । उसले दिनदिनै एउटा पशु मारेर ल्याई त्यसको मासु देवतालाई चढाएर पाहुना र आफन्तहरुलाई खुवाउने गर्दो रहेछ । वर्ष–वर्षमा पितृको श्राद्ध पनि गर्दो रहेछ । ऊ धर्मपरायण र सत्यनिष्ठ पनि रहेछ । उसलाई धर्मब्याध भनेर सबैले चिन्दा रहेछन् अर्थात् ऊ आफ्नो बस्तीमा प्रख्यात रहेछ । उसका एक छोरा र एक छोरी रहेछन् ।
उसले आफ्नी छोरी (अर्जुनका) लाई मतंगका छोरासँग विवाह गरिदिएको रहेछ । एक दिन सासूले अर्जुकालाई भनिछन्– ‘यो जीवघातककी छोरीले के सद्व्यवहार गर्न जान्ली र ? पतिको सेवा पनि के गर्न जानेकी होली ?’
सासूको कुरा सुनेर अर्जुनका माइतीमा गई बुबालाई सबै कुरा बताइन् । केही दिनपछि धर्मव्याधले आफ्नो सम्धी मतंगकहाँ गएर भने– ‘मलाई धेरै भोक लाग्यो, केही खानुप¥यो ।’ मतंगले पनि मेरो घरमा विभिन्न किसिमका अन्न छन्, के खानुहुन्छ भनी सोधे । त्यो देखेर धर्मव्याधले ती अन्न हेरौं भन्दा मतंगले गहुँ, चामल, मकै, जौ आदि अन्न देखाए । त्यो देखेर धर्मव्याध जुरुक्क उठी फर्किन खोजे ।
उनलाई छेकेर मतंगले खाना खान आग्रह गरे । धर्मव्याधले मतंगलाई भने– ‘तपाईंहरु दिनदिनै हजारौं जीव हत्या गरेर देवता र पितृलाई अर्पण नगरी खानुहुन्छ । यस्ता पापीका अन्न पनि कुन सत्पुरुषले खान्छ ? तपाईंहरुको घरमा चेतना नभएको अन्न भए म खान्छु ।
मैले आफन्तको भरणपोषणका निम्ति एउटा पशु मार्छु र देवता–पितृलाई अर्पण गरी आफन्तहरुसँग बसेर खान्छु । तपाईंहरुले त धेरै जीवलाई मारेर देवता–पितृलाई नचढाई त्यत्तिकै खाइरहनुहुन्छ । त्यसो भएकाले तपाईंको अन्न मेरा निम्ति अभोज्य हो । पञ्चमहायज्ञ अर्र्थात् ब्रह्मयज्ञ, देवयज्ञ, भूतयज्ञ, पितृयज्ञ र मनुष्य–यज्ञ गरेर खाए मात्र अन्न शुद्ध हुन्छ । होइन भने चामलको एक–एक गेडा अन्न पनि एक–एकवटा पशु हुनेछ ।’
यो शास्त्रोक्त कुराबाट के थाहा हुन्छ भने, देवता र पितृलाई नचढाई अन्न खाने मानिस मासु नखाए पनि ठूलो हिंस्रक र अधार्मिक हो । देवता र पितृलाई चढाएर मासु खाने मानिस पनि निर्दोष र धार्मिक हुन्छ भन्ने सिद्ध हुन्छ । यो कुरालाई शास्त्रमा श्रद्धा भएका आस्तिकहरुले राम्ररी मनन गर्नुपर्दछ ।
प्रतिक्रिया