डा.केसीको माग पुरा नभए नेपाल चिकित्सक संघले कडा कदम चाल्ने


काठमाडौँ ।

नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.ज्यूको १९ औं पटकको सत्याग्रहको आज १७ औं दिन भईसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

चिकित्सा शिक्षाका अभियन्ता डा.केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो ।

सरकार आफैले डा. के.सी.सँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौता अनुसार उहाँका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भई सकेको व्यहोरा सर्व विदितै छ ।

हाल विश्वभर महामारीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमणका कारण नेपालमा आजको मितिसम्म ४९१ जनाले मृत्युवरण गर्नु परेको एवं ७६ हजार २ सय ५८ जना संक्रमित भईरहेको विद्यमान अवस्थामा डा. गोविन्द के.सी.को जीबन रक्षाका निम्ती हुन सक्ने कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथासिघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको नेपाल चिकित्सक संघको ठहर छ ।

डा. के.सी. को जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले कठोर कदमहरु चाल्ने गम्भिर परिस्थिति सिर्जना नगर्न र यस संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको संघका महासचिव डा.बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।