रेबिजविरुद्ध साताव्यापी कार्यक्रम

0
Shares

स्याङजा, (नेस)

विश्व रेबिज दिवसको अवसर पारेर वालिङमा रेबिजविरुद्ध साताव्यापी कार्यक्रम सोमबारदेखि शुरू भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजना र लियो क्लब अफ वालिङको सहयोगमा कार्यक्रम थालिएको हो ।

‘रेबिज रोग लागिसकेपछि यसको उपचार कठिन तथा बिरामी बच्ने सम्भावना निक्कै कम हुन्छ’, सप्ताहव्यापी कार्यक्रमको सोमबार शुभारम्भ गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो– ‘त्यसैले रोग लाग्नै नदिनका लागि पूर्वसावधानीस्वरूप घरमा पालिएका वा सामुदायका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन आवश्यक छ ।’ उहाँले आ–आफ्ना कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहन आग्रहसमेत गर्नुभयो ।

‘रेबिज अन्त्य गरौं सहकार्य गरौं, खोप लगाऔं’ भन्ने नाराका साथ अभियान शुरु भएको हो । रेबिजविरुद्ध पहिलोपल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पास्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।

कार्यक्रम एकसातासम्म सञ्चालन हुने भएकाले एक सातासम्म निःशुल्क कुकुर बिरालोलाई खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।