तीन पेनाल्टीले गर्दा सिटी पराजित

0
Shares

लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा तीन पेनाल्टी व्यहोर्दा म्यानचेस्टर सिटी पराजित भएको छ। सो खेलमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५–२ गोलअन्तरले हराएको थियो। लेस्टरको जितमा जेमी भार्डीले ह्याट्रिक गरेका थिए।

म्यानचेस्टरका लागि लेस्टरका पूर्वमिडफिल्डर रियाद माहरेजले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, त्यसपछि लगातार तीन गोल गरेर भार्डीले म्यानचेस्टरलाई हारमा पु¥याए। भार्डीले ३७औं मिनेटमा पेनाल्टीमार्फत खेल १–१ बराबरीमा ल्याएका थिए। कायल वाल्करले उनलाई फाउल गरेपछि लेस्टरले पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो।

दोस्रो हाफमा भार्डीले ५ मिनेटमा दुई गोल थपेर ह्याट्रिक पूरा गरेका थिए। उनले ५३औं मिनेटमा टिमोथी कास्टाग्नको क्रसमा गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे। उनी ५८औं मिनेटमा पेनाल्टी गोलमार्फत ह्याट्रिकमा पुगेका थिए।

मेडिसनले ७७औं मिनेटमा डिबक्स बाहिरबाट सानदार गोल गरेपछि लेस्टरको जित पक्का भएको थियो। यद्यपि, ८४औं मिनेटमा नाथान आकेले गोल गर्दै म्यानचेस्टरको आश जगाएका थिए। तर, चार मिनेटपछि पेनाल्टी गोलसँगै म्यानचेस्टरको हार पक्का भएको थियो। सो पेनाल्टी प्रहार लेस्टरका लागि टिलेम्यान्सले गरेका थिए।

यो नतिजासँगै म्यानचेस्टर सिटीले तीन खेलमा ३ अंक जोडेको छ। पेप गार्डियोलाको टोलीले तीन खेलमा दुई हार व्यहोरेको छ। त्यस्तै, लेस्टरको भने यो तेस्रो जित थियो। ९ अंक जोडेको टोलीले लगातार तीन जित हात पारेको छ।